रसियाली अर्बपतिले कहाँ लुकाएका होलान् १ ट्रिलियन डलर ?



एजेन्सी । रुस र युक्रेन युद्धका कारण संसारभर नै हरेक क्षेत्रमा समस्या उत्पन्न भएको छ । विशेष गरी इन्धन र खाद्यान्नको मूल्यमा भएको वृद्धिका कारण मानिसहरुमा अनेकन खालको समस्या सिर्जना भएको छ ।

कतिपय देशमा त भोकमरीको संकेत समेत देखा परेको छ । किनकी, संसारभर जाने ६० प्रतिशतभन्दा बढी गहु रुस र युक्रेनबाट निर्यात हुन्थ्यो । तर लडाइका कारण ती सबै निर्यात रोकिएको छ ।

तर, रमाइलो र गहन विषय यसैसँग जोडिएको अर्को छ । त्यो हो यत्रो संघर्ष हुँदा पनि रसियाली अर्बपतिको पैसा कहाँ र कसरी सुरक्षित होला भन्ने विषय प्रमूख रुपमा चासोको विषय बनेको छ ।

समाचार विवरणहरुमा जनाइए अनुसार रुसी धनाढ्यहरूले गैरकानुनी रूपमा आर्जन गरेको अर्बौ डलर देश बाहिर विभिन्न देखावटी कम्पनीहरुमा राखिएको र त्यो पत्ता लगाउन असाध्यै कठिन भएको बताइएको छ ।

रुसले युक्रेनमा हमला गरेपछिको अवस्थामा अहिले विश्वभरका देशहरूले विभिन्न प्रतिबन्ध र नयाँ कानुनहरू लागू गर्दै त्यस्ता धनलाई पत्ता लगाउनका लागि विभिन्न कदम चाल्न थालेका छन् । तर पनि उनीहरुले हालसम्म केही पनि पत्ता लगाउन सकेका छैनन् ।

अमेरिकी थिंक ट्यांक द एटलान्टिक काउन्सिलको दाबी अनुसार रुसियाली अर्बपतिले करिब एक ट्रिलियन डलर बराबरको कालो धन विदेशमा लुकाएका छन् ।

सन् २०२० को प्रतिवेदनले गरेको अनुमानमा त्यसमध्ये एक चौथाइ रकम रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनी निकटका धनाढ्यहरूको नियन्त्रणमा रहेको दाबी गरिएको विभिन्न सञ्चारमाध्यमरुको दावी छ ।

उक्त प्रतिवेदन अनुसुार क्रेम्लिनले यो रकमको दुरुपयोग गरेर त्यसलाई जासुसी, आतंकवाद, औद्योगिक जासुसी, भ्रष्टाचार, राजनीतिक रूपमा झुक्क्याउन, मिथ्या सूचना फैलाउन र अरू अवाञ्छित उद्देश्यहरूका लागि खर्च गर्ने गरेको पाइएको छ ।

अमेरिकाको अर्को थिंक ट्यांक नेशनल इन्डाओमेन्ट फर डेमोक्रेसीका अनुसार पुटिनले उनका निकटवर्तीहरूलाई राज्यको बजेटबाट रकम उठाउन, निजी व्यवसायबाट फिरौति असुल्न र नाफामा रहेका उद्योगहरू कब्जा गर्नेसम्मका छुट दिएका छन् ।

उक्त संस्थाको दाबी अनुसार यही बाटो समाएर तिनीहरूले दशौँ अर्ब डलर व्यक्तिगत सम्पत्ति थुपारेका छन् । रुसी विपक्षी नेताहरू बोरिस नेम्त्सोभ र भ्लादिमिर मिलोभले दाबी गर्दै भनेका छन् सन् २००४ र सन् २००७ को बीचमा एउटा ठूलो तेल उत्पादक ग्याजप्रोमको कोषबाट पुटिनका निकटवर्तीहरूलाई ६० अर्ब डलर उपलब्ध गराइएको थियो ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्ले सार्वजनिक गरेको प्यान्डोरा पेपर्स अनुसार पुटिन नजिकका व्यक्तिहरू एकदमै धनी भएका र उनीहरूले उनको सम्पत्ति यता उता सार्न मद्दत गरिरहेको पाइएको थियो ।

त्यस्तो पैसा मध्ये धेरै साइप्रस पुग्ने गरेको बताइन्थ्यो किनभने त्यहाँको कर सम्बन्धी नियम आकर्षक थियो । कतिपयले उक्त टापुलाई भूमध्य सागरमा रुसको प्रभावस्थल भन्ने जनाउन मस्को अन द मेड भनेर टिप्पणी गरिएको बीबीसीको विवरणमा उल्लेख छ ।

एटलान्टिक काउन्सिलका अनुसार सन् २०१३ मा मात्रै रुसबाट ३६ अर्ब डलर त्यहाँ पुगेको थियो । अधिकांश पैसा शेल कम्पनीहरूबाट भित्रिएको थियो जुन कम्पनीहरूको प्रयोग त्यसका वास्तविक धनीहरूको परिचय लुकाउनका लागि गरिन्छ ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले साइप्रसलाई शेल कम्पनीहरूका दशौँ हजार खाताहरू बन्द गर्न भनेको थियो ।

सन् २०१८ मा प्रकाशित ग्लोबल विटनेशको एउटा प्रतिवेदनले यी करबाट उन्मुक्ति पाउन सकिने स्थानहरूमा रुसी धनाढ्यको करिव ४५ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको हुनु पर्ने अनुमान गरेको थियो । कतिपय धन लगानी गरि मुनाफा आर्जन गर्न सकिने विश्वका वित्तीय राजधानीहरू जस्तै न्यूयोर्क र लन्डनमा समेत पुग्ने गर्छन् ।

भ्रष्टाचार निवारणको क्षेत्रमा काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनले बेलायतमा रहेका घरजग्गा सम्पत्तिमध्ये कम्तीमा पनि २ अर्ब डलर वित्तीय अपराधमा आरोपित रुसी वा क्रेमलिनसँग सम्बन्ध भएका मानिसहरूको स्वामित्वमा रहेको दाबी गरेको छ ।


क्लिकमान्डु