५ किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार



काठमाडौं । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बाग्मती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ ।

कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत उनीहरुलाई कृषि सचिव डा. शरणकुमार पाण्डेले पुरस्कार प्रदान गरेका हुन् ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपक्षी फार्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै द्वितीय हुने दिदीबहिनी कृषि फार्म भक्तपुरकी गीता रिजाललाई नगद ४५ हजार रुपैयाँ, तृतीय हुने थाहा पौरखी कृषि प्रालि वरीवललाई नगद ४० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी चौथो हुने कामना फलफूल बहुउद्देश्यीय नर्सरी फार्म रामेछापलाई नगद ३५ हजार रुपैयाँ तथा पाँचौँ हुने न्यू महाँकाल कृषि फार्म काभ्रेलाई नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।

पुरस्कारका लागि प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत प्रत्येक जिल्लाबाट तीन जनाका दरले ३७ जना कृषकको प्रस्ताव कृषि तथा पशुपक्षी विकास निर्देशनालयले सङ्कलन गरेको र त्यसबाट उत्कृष्ट हुनेलाई बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले छनोट गरी पुरस्कृत गरिएको गोष्ठीमा जनाइएको छ ।


क्लिकमान्डु