एसियाकै पहिलो ‘कृषि कर्जा मेला’ चैत ९ गतेदेखि



काठमाडौं । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो ।

मेला आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गर्ने भएको हो ।

मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्सएसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल छन् । मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेशन छ ।

कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुशमा शर्माले बताइन् ।

मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाइ छ ।

यसैगरी बैंकहरुलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषि कर्जाको राष्ट्रिय संवाद एवम् कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवाप्रदायक र नीति निर्माताबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

त्यस्तै, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शर्माले कृषि कर्जाको कन्सेप्टले वास्तविक निडी वा कृषकसम्म वित्तीय सूचना पुग्ने अपेक्षा गरिएको उनले बताए ।

कृषि क्षेत्रमा बैंकहरुले ठूलो लगानी भइरहे पनि उपलब्धि न्यून भएको उनको भनाइ छ । कृषकले उत्पादन त गरेका छन् तर ढुवानी र बजारिकरणसम्मका भ्यालु चेनमा बैंकले ध्यान दिन आवश्यक रहेको उनले बताए ।

नबिल बैंकका सिइओ अनिल केशरी शाहले बैंकहरु घर, जग्गा र मोटर कर्जामै रमाइरहे पनि हाल कृषि क्षेत्रमा लगानी बढाइरहेको उनले बताए ।

कृषि वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरणमा बैंकहरुले लगानी बढाउनु पर्ने र कृषिवस्तुको प्रवद्र्धन गर्नुपर्ने उनले जिकिर गरे । साथै, यो मेलाले कृषक र उद्यमीहरुलाई सहज बनाउने उनले अपेक्षा गरे ।

कृषि विकास बैंकका उपकार्यकारी निर्देशक बाबुकाजी थापाले ब्याज, अनुदानमा मात्रै १३ अर्ब राज्यको खर्च भए पनि उपलब्धि कमजोर भएको बताए । जसका कारण चामल, दाल, चिनी, फलफुल, तरकारी लगायतका वस्तु ठूलो मात्रामा आयात भइरहेको उनले बताए ।

कृषि वस्तुमा हुने आयात घटाउन नेपालमै उत्पादन बढाउनुपर्ने थापाको भनाइ छ ।

कृषक र बैंकलाई जोड्ने भएकोले नै यो मेलाको बैंकले मुख्य प्रायोजन गरेको पनि उनले सुनाए । साथै, मेलाबाट कृषक र कृषि क्षेत्रका धेरै समस्या समाधान हुने पनि उनले अपेक्षा गरे ।

धितोको अनिवार्यता र झण्झाटिलो प्रकृयाले कृषकहरुले कृषि कर्जा लिन नसकेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताए । सीप, क्षमता र योजना हुँदा पनि धितोकै कारण काम गर्न नसकि खुम्चिनु परेको उनको भनाइ छ ।

‘धितो भएकालाई मात्रै ऋण दिँदा सीप भएका मानिस पछि परिरहेका छन्,’ उनले भने ।

विदेशमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्दा देशको नै विकास हुने उल्लेख गर्दै उनले यसरी विदेशबाट फर्किएकालाई बैंकले थप सपोर्ट गर्नुपर्ने उनले बताए ।

उनकाअनुसार मानिसको सीप, ज्ञान, योजना, शैक्षिक तथा सरकारी कागजात धितोको रुपमा राखेर पनि बैंकहरुले कर्जा उपलब्ध गराउनु गराउनुपर्छ ।

५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८
सोही मितिमा र सोही स्थानमा सलोम ५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरिएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो ।

प्रदर्शनीमै कृषि कर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाको थप आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताए ।

कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए ।

‘कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै समस्याको समाधान होस् भन्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो’ कटुवालले भने ।


क्लिकमान्डु