माइतीघरमा मेयर शाक्यले गरे आकाशे पुलको उद्घाटन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरमा आकाशे पुलको उद्घाटन गरेका छन् ।

आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८÷९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको मेयर शाक्यको भनाइ छ । उनले आकाशे पुल निर्माणपछि सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए ।

मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी साना भएकाले केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको समेत बताए ।

‘माइतीघरमा निर्माण हुने आकाशे पुलका कारण स्वास्थ्य मन्त्रालय, सिंहदरबार, सर्वोच्च अदालतमा जानेहरुलाई धेरै राहत दिने हामीले महशुस गरेका छौँ । आवश्यक ठाउँमा वडा अध्यक्षले सिफारिस गरेअनुसार बनाउने नीति, कार्यक्रम र बजेट पनि हामीसँग छ,’ उनले भने ।


क्लिकमान्डु