सीमित व्यक्तिको पहुँचमा कर्जा, निक्षेप खाता खोल्नेको संख्या बढेपनि कर्जामा बढेन दायरा



काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्नेको संख्या ४ करोड १७ लाख नाघेको छ । जसमा ४८ खर्ब ७८ अर्ब रुपैयाँको निक्षेप जम्मा भएको छ ।

त्यसैगरी माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४६ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा दिएका छन् । तर, कर्जा लिनेको संख्या १८ लाख ७ हजारमात्रै छ ।

बैंक तथा वित्तीय संस्थाले पछिल्लो निक्षेपको तुलनामा आक्रामकरुपले कर्जा बढाएका छन् । पछिल्लो ७ वर्षको तथ्यांक हेर्ने हो भने निक्षेप २.५४ गुणाले बढेको छ भने कर्जा ३.२१ गुणाले बढेको छ ।

यसले बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा कर्जा बढी बढाएको देखिन्छ । २०७२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको १९ खर्ब २० अर्ब रुपैयाँ निक्षेप थियो भने कर्जा १४ खर्ब ५९ अर्ब थियो ।

निक्षेपको तुलनामा कर्जा रकमको संख्या बढी बढेपनि निक्षेपकर्ताको तुलनामा ऋणी भने नबढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । ७ वर्षमा निक्षेपकर्ताको संख्या २.६४ गुणाले बढेको छ । जबकी कर्जा लिनेको संख्याको १.७४ प्रतिशतले मात्र बढेको छ ।

२०७२ साल माघ मसान्तमा १ करोड ५७ लाख निक्षेप खाताको संख्या थियो भने कर्जा खाताको संख्या १० लाख ३८ हजार थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक निक्षेप खाताको संख्या जनसंख्याभन्दा बढी भएपनि वित्तीय पहुँच बिस्तार नभएको बताएका थिए ।

गभर्नर अधिकारीले पछिल्लो समय ऋण विस्तार भएपनि ऋण नपाएको बताउँदै आएका छन् । राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख कार्यकारी निर्देशन डा. प्रकाश श्रेष्ठ निक्षेप खाता खोल्ने बढेपनि त्यो अनुपातमा ऋण खाता नबढेको बताउँछन् ।

७ वर्षअघि औसतमा एउटा निक्षेप खातामा १ लाख २१ हजार रुपैयाँ निक्षेप थियो । निक्षेपको तुलनामा निक्षेप खाताको संख्या बढी हुँदा अहिले एउटा निक्षेप खाता बराबर १ लाख १६ हजार निक्षेप छ । जबकी ७ वर्षअघि औसतमा एकजना ऋणीले १४ लाख ऋण लिएको देखिएको थियो भने अहिले २५ लाख रुपैयाँ ऋण लिएको देखिन्छ ।

तथ्यांक हेर्दा निक्षेप रकमको तुलनामा निक्षेपकर्ताको संख्या बढेको छ भने कर्जा रकम बढेपनि कर्जा ऋणीको संख्या कम बढेको देखिन्छ । पछिल्लो ७ वर्षमा २.५४ गुणाले निक्षेप बढेको छ भने कर्जा ३.२१ गुणाले बढेको छ ।

केन्द्रीय तथ्यांक विभागको आर्थिक गणना अनुसार ९ लाख २३ हजार ३५६ वटा व्यवसायिक प्रतिष्ठानमा ३५.६ प्रतिशतमात्र ऋणको पहुँचमा रहेको देखाएको थियो ।

जसमा औपचारिक माध्यम मानिने बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर चलेका व्यवसायिक संस्थाहरु १८.१ प्रतिशत छन् । सहकारी तथा व्यक्तिगत ऋण लिएर चलाउनेको व्यवसायिक प्रतिष्ठान १७.५ प्रतिशत रहेको देखाएको थियो ।

बैंकिङ विज्ञ बीएन घर्ती पछिल्लो वर्षमा वित्तीय पहुँच बढेपनि ऋण भने सीमित व्यक्तिको दायरामा रहेको तथ्यांक देखिएको बताउँछन् ।

‘निक्षेप खाताको संख्या जुनरुपमा बिस्तार भएको छ, त्यो अनुपातमा ऋण खाता नबढ्दा ऋण केही व्यक्तिले मात्र बढाएको देखियो, यसले बैंकहरुलाई कर्जा दिने बजार अझै रहेको देखिएको छ,’ घर्तीले क्लिकमाण्डूसँग भने ।

कोभिडपछि १५ खर्बले कर्जा बढ्दा ऋणीको संख्या ३ लाखले बढ्यो

कोभिडपछि बैंक तथा वित्तीय संस्थाले १५ अर्ब रुपैयाँले ऋण बढाएको देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ साल माघ मसान्तमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ ऋण रहेको थियो ।

सरकारले २०७६ साल चैतको दोस्रो सातादेखि कोभिड नियन्त्रण गर्न लकडाउन लागू गरेको थियो ।

२०७६ साल माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३५ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । सो बेला निक्षेपकर्ताको संख्या ३ करोड ११ लाख थियो । सो समय कर्जा रकम ३१ खर्ब ८९ अर्ब थियो ।

कर्जा लिने ऋणीको संख्या १४ लाख ९८ हजार थियो । साथै, २ वर्षको बीचमा बैंक तथा वित्तीय संस्थाले १५ अर्ब ५ अर्ब कर्जा बढाएर १३ खर्ब १३ अर्ब निक्षेप बढाएको देखिन्छ । निक्षेपकर्ता १ करोडले बढेका छन् भने ऋणीको संख्या ३ लाख ९ हजारले बढेको छ ।

राष्ट्र बैंकको तथ्यांक हेर्दा २०७२ साल माघ मसान्तसम्म १४ खर्ब ५९ अर्ब रुपैयाँ मात्र बैंक तथा वित्तीय संस्थाले ऋण दिएका थिए । १४ खर्ब ५९ अर्ब कर्जा लिने ऋणीको संख्या १० लाख ३८ हजार थियो ।

बैंक तथा वित्तीय संस्थाले १५ खर्ब २ वर्षमा बढाए । १५ खर्बले कर्जा बढ्दा ऋणीको संख्या जम्मा ३ लाखले बढ्यो । यसले बैंकहरुले सीमित व्यवसायिक घरानालाई मात्र ठूलो रकमको ऋण दिएको देखिन्छ ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री कर्जा खाताको संख्याले वित्तीय पहुँच पुगेको कुरा देखाउने बताउँछन् ।

‘सरकारको बाध्यकारी नीतिले सामाजिक सुरक्षा भत्ताको लागि बैंक खाता खोल्नेको संख्या बढ्यो ,ऋणका लागि अझैपनि अनौपचारिक माध्यममा भर पर्नुपर्ने अवस्था छ, यसलाई परिवर्तन गनुपर्ने आवश्यक्ता छ, कर्जा लिनेको संख्या बढाउनुपर्ने देखिन्छ,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने ।

कर्जा खाताको संख्याले आर्थिक क्रियाकलाप बढाउने र रोजगारी सिर्जना गर्न मद्दत गर्ने हुन्छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट पछिल्लो समय वित्तीय पहुँच विस्तारको हिसाबले सफलता पाएको बताउँछन् ।

‘१८ लाखभन्दा बढीको संख्यामा ऋणीको खाता हुनु भनेको सानो संख्या होइन, यसले बिस्तारै वित्तीय पहुँच बढाउदै गएको देखिन्छ, व्यवसाय गर्नेहरु ऋण लिनका लागि बैंक तर्फ आकर्षित भएको देखिन्छ,’ उनले भने ।

सरकारले सामाजिक सुरक्षा भत्तालाई अहिले बैंकबाट दिने नियम बनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार ५९० स्थानीय तहले सामाजिक सुरक्षा भत्ता बैंक खातामा राखिदिने व्यवस्था लागू गरेको छ ।

सरकारले सबै स्थानीय तहबाट वितरण हुने सामाजिक सुरक्षा भत्तालाई बैंक खाताबाट पठाउन सक्ने व्यवस्था कार्यान्वयन गर्ने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब ३ स्थानीय तहमा मात्र बैंकको शाखा पुग्न बाँकी रहेको छ ।

यसबाहेक पछिल्लो समय कम्पनीहरुले निष्कासन गर्ने आइपीओमा भर्नका लागि समेत डिम्याट खाता खोल्नको लागि बैंक खाता खोल्नेको संख्या बढेको छ । डिम्याट खोल्नेको संख्या अहिले ४५ लाख नाघेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्ट निक्षेप खाता सबै नेपालीको पहुँचमा पुगेपनि कर्जाको खाता त्यो अनुसार नहुँने बताउँछन् ।

‘ऋण लिनेहरु सक्रिय उमेर समुहले हो, सक्रिय उमेर समूहमा सबैले व्यवसाय गर्ने भन्ने कुरा हुँदैन, व्यवसाय गर्नेले ऋण लिने हो । यस आधारले १८ लाखको संख्या ऋण लिने पुग्नुलाई राम्रो मानिन्छ,’ भट्टले थपे ।


आशीष ज्ञवाली