ऋणसँगै प्रविधि पनि भित्र्याउन एडिबीसँग अर्थमन्त्रीको आग्रह



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडिबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र््याएर सहयोग गर्न आग्रह गरेका छन् ।

एडिबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै अर्थमन्त्री शर्माले ठूला परियोजनाहरुमा अझै दातृ निकायको ऋण आवश्यक परेको र यसरी ऋण दिँदा विकसित देशमा प्रयोग हुने नविनतम प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरे ।

‘हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइदिनुपर्यो,’ उनले भने,‘ ‘जसकारण हाम्रा परियोजना कार्यान्वयन गर्न धेरै सजिलो होस् ।’

उनले ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने पनि बताए ।
कार्यक्रममा एडिबीको आर्थिक सहयोगमा विभिन्न परियोजना सञ्चालन गरिरहेका मन्त्रालयका सचिवसहित अन्य पदाधिकारीको सहभागिता रहेको थियो । सबै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए ।

‘हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ,’ उनले भने, ‘अहिले बन्दै गरेका र अब छनौट हुने नयाँ परियोजनाका बारेमा पनि यो कुरा ध्यान दिनुहोला ।’

अर्थमन्त्री शर्माले नेपालको विशेषता र आवश्यकता सुहाउँदो शर्तहरु राखेर एडिबीले परियोजनामा लगाानी गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘ऋण लिने भनेर हामीलाई अप्ठ्यारो पार्नु भएन । नेपालको विशेषता र आवश्यकताका आधारमा शर्तहरु राखेर परियोजना अघि बढाउन म एडिबीलाई आग्रह गर्छु,’ उनले भने ।

एबिडी र सरकारको सम्बन्ध सुदृढ र आत्मनिर्भर समाज रुपान्तरणका लागि प्रभाावकारी भइहेको भन्दै उनले खुसी व्यक्त समेत गरे । छलफलमा सहभागी विभिन्न मन्त्रालय/निकायका प्रतिनिधिले समन्वयको अभाव भएको बताएका थिए । मन्त्री शर्माले समन्वय हुन नसक्नु कर्मचारीकै कमजोरी भएको बताए ।

उनले समन्वय गर्न कर्मचारीबीच तालमेल नहुँदा विकासमा अवरोध भएको समेत बताए ।

‘कुन सडक कसले बनाउने भनेर पनि कर्मचारी साथीहरु अलमलिनु भएको छ, अनि कसरी हुन्छ विकास ?’ उनले भने, ‘सडक खन्ने, ढल बनाउने र बिजुलीको पोल गाड्ने काम समन्वय गरेर एउटै टेण्डरमा निकाल्दा भइहाल्छ तर यहाँ बाटो बनाएपछि ढल विकासले खन्ने र विद्युत् प्राधिकरणले बिजुलीको पोल गाड्ने अनौठा उदाहरण देखिने गरेका छन् ।’


क्लिकमान्डु