इक्यानले चिसो एस्ट्रे चलचित्रको च्यारिटी गर्ने, संकलित रकम कोभिड पीडितलाई दिने



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले चिसो एस्ट्रे नामक चलचित्रको च्यारिटी शो आयोजना गर्ने भएको छ ।

इक्यानले फागुन ३० गते साँझ ५ बजे कुमारी हलमा देखाउने च्यारिटी शोको सम्पूर्ण आम्दानी इक्यानको सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रममार्फत् खर्च गरिनेछ ।

च्यारिटी शोका लागि इक्यानले प्रतिटिकट १ हजार रुपैयाँ मूल्य तोकेको छ । यसबाट उठेको रकम कोभिडबाट प्रभावित व्यक्तिहरुलाई प्रदान गरिने इक्यानका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख भवनाथ हुमागाइले जानकारी दिए ।

‘इक्यानले विगतमा जस्तै यसबाट उठेको रकम पीडितहरुलाई सहयोग गर्नेछ, उक्त रकम कहाँ खर्च भन्ने विषयमा छिट्टै घोषणा हुनेछ,’ उनले भने ।

चिसो एस्ट्रे चलचित्र इक्यानका पूर्वउपाध्यक्ष महेशबाबु तिमल्सिनाले निर्माण गरेका हुन् । उक्त चलचित्र आगामी चैत ३ गतेदेखि रिलिज हुँदैछ ।

भूपि शेरचनको कविता चिसो एस्ट्रेमाथि तयार भएको चलचित्रमा दिव्यदेव, निहुन श्रेष्ठ, नविन लम्साल र सृष्टि श्रेष्ठको अभियन छ ।


क्लिकमान्डु