दाना आयातमा भन्सार शुल्क घटाउन दाना उद्योग संघको माग



काठमाडौं । नेपाल दाना उद्योग संघले दाना आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ ।

संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै दाना बनाउने कच्चा पदार्थ मकै, भटमासको पिना, औषधीहरू, कच्चा तेल तथा फिड सप्लिमेन्टहरूको अस्वाभिव मूल्यवृद्धिबाट उत्पादन लागत बढेकोले भन्सार शुल्क माग गरेको हो ।

संघले भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशतबाट घटाएर पुरानै दर १.६ प्रतिशत हुनुपर्ने जनाएको छ । विगतको समयमा बंगलादेशबाट सहज रुपमा भटमास पिना आयात भइरहेकोमा हाल आएर बंगलादेशबाट भारतमा समेत निर्यात हुन थालेपछि बंललादेश सरकारले निर्यातमा रोक लगाएको छ ।

आयातमा रोक लगाएको हुनाले तत्काल नेपालको तर्फबाट नेपाल निर्यात खुलाउन बंगलादेश सरकार समक्ष कुटनीतिक पहलको लागि कार्य गर्नुपर्नेमा जोड दिएको छ ।

त्यस्तै, मकैमा लाग्दै आएको कर ५ प्रतिशतबाट घटाइ पुरानै दर १.६ प्रतिशत कायम हुनु पर्ने र औषधीमा लाग्दै आएको कर १० प्रतिशतबाट घटाएर पुरानै दर १ प्रतिशत कायम हुनुपर्ने माग गरेको छ ।

साथै, दीर्घकालीन रुपमा यस्ता समस्याहरु समाधान गर्न बृहत रुपमा मकै तथा भटमास खेतीलाई प्रत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने उल्लेख छ ।

आत्मनिर्भर भईसकेको नेपालको पोल्ट्री व्यवसायको दाना उत्पादन गर्ने उद्योगहरुलाई संरक्षण गर्ने तर्फ पहल गर्न र उत्पादन लागत कम गर्न पनि नेपालमा उत्पादन नहुने तथा अपुग हुने कच्चापदार्थमा भन्सार महसुलमा परिवर्तका लागि आगामी बजेटमा यस माग गरेको छ ।

आर्थिक वर्ष २०७४/७५को बजेटसम्म दाना उद्योगहरूको लागि आवश्यक पर्ने कच्चापदार्थहरू मकै तथा भटमासको पिना भन्सार महशुल १.६ प्रतिशतमा छुट्दै आएकोमा २०७५/७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशतसम्म कृषि सुधार शुल्क बढाएको छ ।

पशुपञ्छीको आहारमा प्रयोग हुने धेरैजसो कच्चापदार्थहरुको मुल्य बढेसँगै दानाको मुल्य पनि बढेको जनाएको छ ।

विगत २ महिनादेखि सदर १०० रुपैया प्रतिकेजी रहेको भटमास पिना ११५ र ३८÷३९ रहेको मकैको रेट ४७ रुपैयाँ प्रतिकेजी रहेको छ जसको कारण दानाको उत्पादन लागत बढेको छ भने कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मूल्य पनि बढेको संघको दाबी छ ।

संघका अनुसार २०७७ साउनमा ६० रहेको भटमासको पिना अहिले ११५ रुपैयाँ र २०७७ साउनमा २५ रुपैयाँमा पाउने मकै अहिले ४७ रुपैयाँ पुगेको संघले उल्लेख गरेको छ ।

दाना बनाउन आवश्यक पर्ने फिड सप्लीमेन्टहरुमा २५ प्रतिशत देखि ३० प्रतिशतसम्म वृद्धि भएको छ ।

मकै करिव ६० प्रतिशत खपत हुन्छ भने भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५ देखि ३२ प्रतिशत हुन जान्छ । त्यसैले यसको प्रत्यक्ष प्रभाव दानाको मुल्यमा परेको संघको भनाइ छ ।


क्लिकमान्डु