अतिथि गृह तथा सभाहल निर्माण



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ ।

दुई करोड २२ लाख रुपैयाँको लागतमा अतिथि गृह तथा एक करोड ५७ लाख रुपैयाँको लागतमा सभाहलको निर्माण भएको छ ।

वडा नं ९ स्थित केवलानीमा १६ कोठाको अतिथि गृह र एक हजार २०० जना अट्ने क्षमताको सभाहल निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

सो सभाहलमा हाल कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० शय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो ।

महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले दुई बिघा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको नगरपालिकाका योजना प्रमुख इञ्जिनीयर प्रदीप वनले जानकारी दिए ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले आज सभाहलको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए ।

प्रदेशसभा सदस्य रमा अर्याल, पूर्वप्रदेशसभा सदस्य दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताए ।


क्लिकमान्डु