ताराले शुरु गर्यो इलाममा पहिलो व्यावसायिक उडान



काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबारदेखि व्यावसायिक उडान शुरु गरेको छ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछि तारा एयरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न भएको हो ।

तारा एयरको नाइन एनएलओ ट्विन अटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा विमानस्थलमा अवतरण गरेको थियो ।

तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो ।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाहसहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एयरका प्राबिधिक टोली गरी १४ जना यात्रुहरू पहिलो व्यावसायिक उडानमा सहभागी भएका थिए ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत लगायत पर्यटन व्यवसायीहरुले उक्त उडानमा सहभागीलाई स्वागत गरेका थिए ।

६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि २०७५ जेठ २१ गते तारा एयरले नै पहिलो परीक्षण उडान गरेको थियो ।

आजबाट पहिलो व्यवसायिक उडान शुरु गरेको तारा एयरले आइतबार र बिहीबार हप्तामा दुईदिन नियमित उडान गर्ने जानकारी तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोशनल फेयर अन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । उनका अनुसार यो गन्तव्यको उडान दुरी करिब एक घण्टाको छ ।


क्लिकमान्डु