मेलम्चीमा खानेपानी मन्त्रीको छड्के, तोकिएको समयमा काम भए पुरस्कृत गर्ने घोषणा



सिन्धुपाल्चोक (अम्वाथान) । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरेका छन् ।

गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाईड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थालगत निरिक्षण गर्न सोमबार बिहान ७ बजे नै पुननिर्माणस्थल पुगेका हुन् ।

काठमाडौंबाट बिहानै स्थलगतमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको सुइँको पाएका थिए ।

झिसमिसे बिहानै मन्त्रीको आवगमन होला भन्ने नसोचेका मेलम्ची आयोजनाका कर्मचारी, ठेक्केदार कम्पनीका श्रमिक र स्थानीयले सोचेका पनि थिएनन् । मन्त्री चौधरी बाँधस्थल पुग्दा पछि पछि सुरक्षाकर्मीको सवारी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल पुगेका थिए ।

स्थलगत निरिक्षणमा जानु भएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुननिर्माणको कार्य सन्तोषजनक ढंगले गरिरहेको बताउनु भयो । उहाँले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौंको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य निकै कठिन र चुनौतिपूर्ण भए पनि सो कार्य सफलतापूर्वक सम्पन्न भए काम गर्ने सबै जनशक्तिलाई पुरस्कृत गर्ने समेत बताए ।

उनले जिम्मेवारी पुरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी दिए ।

सो अवसरमा मन्त्री चौधरीले अम्वाथानमा रहेको अस्थायी संरचनाबाट पानी पथान्तरण गर्ने एक नम्वर सुरुङको, बैकल्पिक डाईभर्सन, सुरुङ गेट, ९ नम्वर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुंगा र गेगर हटाउने कार्यको स्थलगत निरिक्षण गरी जानकारी लिए ।

ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुंगाको थुप्रो हटाउने, र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ । काठमाडौमा अस्थायी रुपमा पानी पथान्तरण गर्ने १ नम्वर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन ।

ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठूला ठूला ढुंगा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फेड्न नसक्दा समस्या भएको गुनासो गरेको थियो । ठेकेदारको समस्या समाधानका लागि मेलम्ची खानेपानी बिकास समितिले बासुदेव पौडेलले नेपाली सेनाको सहयोगमा ठूला ढुंगा विष्फोट गरि फोड्ने तयारी भएको बताए ।

कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिँदै मन्त्री चौधरीले सम्झौता अनुसार २४ घण्टा काम गर्न, दिएको कार्ययोजना अनुसार परिणाम देखिने गरी काम गर्न र समस्या देखाएर काम नरोक्न निर्देशन दिए ।

मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले गत असारमा १ मा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको पुनःनिर्माण गर्न ठेक्का अवधी कायम रहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई ३६ करोड ४५ लाख ३३ हजार १ सय ८३ रुपैयाँमा सम्झौता थप गरेको थियो । मेलम्ची खानेपानी आयोजनाले बाँधस्थलमा १९ जना इन्जिनियरहरुलाई खटाएको छ ।


क्लिकमान्डु