भागी विवाह गरेका दीपक मल्होत्राको अन्तरजातीय प्रेमकथाः जेठानले त मेरो गाडीमा ढुंगा हान्नुभयो
काठमाडौं । दीपक मल्होत्राका मिल्ने साथी थिए पवन अग्रवाल । दीपक र पवनको घर जोडिएको थियो ।
निकै मिल्ने दुई साथी प्रायः सँगसँगै हुन्थे । एकदिन पवनको घरमा थिए दीपक ।
त्यहीबेला फोनको घण्टी बज्यो । ट्रिङ, ट्रिङ, ट्रिङ…।
पवनले फोन उठाए ।
‘हेलो को बोल्नु भा ?,’ पवनले सोधे ।
‘म सविता हो, सुरक्षालाई खोजेको,’ उताबाट मिठो स्वर आयो ।
सुरक्षा दीपककी बहिनी हुन् ।
४० वर्षअघि दीपकको घरमा फोन थिएन । त्यो बेला कसैको घरमा फोन हुन ठूलो कुरा थियो ।
कुनै एक घरमा फोन भएपछि छरछिमेकलाई पनि ठूलो सुविधा हुन्थ्यो ।
पवनको घरमा रहेको ल्याण्डाइनमा दीपक, उनकी बहिनी रक्षाको फोनमा आइरहन्थ्यो । त्यो दिन पनि त्यस्तै भयो ।
‘बहिनी त छैन, उसको दाइसँग कुरा गर्ने भए यही छ,’ दीपकलाई हेर्दै पवनले मुस्कानसहित भने ।
त्यत्ति एक वाक्यले दीपकलाई भने कताकता काउकुती लाग्यो । फिलिङ आयो ।
त्यही फिलिङसँगै शुरु हुन्छ दीपकको प्रेम कहानी ।
केही दिनअघि भेटका लागि हामी पुग्दा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा अफिसियल काममा व्यस्त थिए । टेवलमा रहेको ल्याण्डलाइन फोन बजिरहेको थियो ।
हातका बोकेका दुई सामसङ हेन्डसेटमा पनि घन्टी बजिरहन्थ्यो । कति उठाउँथे, कति साइडको स्वीच दबाएर साइलेन्स बनाउँथे ।
हामीलाई भने उनको ४० वर्षअघिको ‘अन्तरजातीय लभ स्टोरी’ सुन्न मन थियो । यही ‘लभ स्टोरी’सँगै अन्तरजातीय विवाहको राम्रो उदाहरण बनेको मल्होत्रा परिवारको अनुभव पनि चाखलाग्दो छ ।
४० वर्षको अवधिमा मल्होत्रा परिवार एक समावेशी परिवार बनेको छ । मल्होत्रा परिवारमा नेवार, क्षेत्री, तामङसहित समावेशी सदस्य छन् । यो आफैंमा उदाहरणीय संयोजन पनि हो ।
‘मेरो लभ स्टोरी साउथ फिल्मको कथाभन्दा कम छैन,’ कुराकानी शुरु गर्दै गर्दा दीपकले हाँस्दै भने ।
दुई सामसङ फोनलाई टेबलमा राखे । अनि कहानी शुरु गरे ।
भर्खर जुँगाको रेखी बस्न शुरु के गरेको मात्रै थियो, पञ्जावी मुलका मल्होत्राले पाटनको नेवार केटी ताकिसकेका थिए । जुन प्रेम विवाहमा परिणत हुन त्यति सजिलो थिएन ।
सविताका बुवा राजा महेन्द्रका प्रिय पात्र थिए ।
पाटनका बिरेन्चीमान प्रधान भनेछि ‘पावरफूल’ मान्छे भनेर चिनिन्थे । एयरपोर्टको एक नम्बर अफिसरमा जागिर खाएका बिरेन्चीमान कडा स्वभावका थिए । उनीसँग सबै थर्कमान हुन्थे ।
त्यही परिवारको छोरी थिइन् सविता । जसलाई दीपकले मन पराउन थालिसकेका थिए ।
पवन अग्रवाल र सविताले एभिएम स्कुलमा सँगै पढेका थिए । दीपककी बहिनी रक्षा पवनको साथी थिइन् । त्यही कारण सविता र सुरक्षाको पनि दोस्ती भयो । राम्रो साथी बनेका थिए ।
सुरक्षालाई भेट्न सविता दीपकको घरमा आइरहन्थिन् । बहिनी भेट्न आइरहने सबितासँग दीपकको हिमचिम बढ्न थाल्यो ।
पवन उनीहरुको सम्बन्धमा अझ राम्रो रोल खेले । फिल्मको कहानीमा जसरी हिरोको मनको कुरा हिरोइनलाई पुर्याउने एक पात्र हुन्छ, त्यस्तै भूमिकामा थिए पवन ।
‘के हो तिमीहरुको केही चल्दै छ कि क्या हो,’ पवनले दुबैसामू भन्थे । अझ भनौं, पवनले प्रेमको महोल बनाइदिन्थे ।
सविताको घरमा ल्याण्डलाइन फोन थियो । दीपकले पवनको फोनबाट सवितालाई फोन गर्न थाले ।
फोनमा घण्टी बज्ने क्रम बढ्दै गयो । एक दुई मिनेट हुने कुराहरु ५/७ मिनेट हुँदै १५/२० मिनेटसम्म पुग्यो ।
परिवारको सदस्य नभएको बेला पारेर फोन हुन थाल्यो ।
दुबैको मनमा मायाको टुसा पलाइरहेको थियो ।
दीपक २०/२१ वर्षका लक्काजवान थिए । व्यवसायी घरानाका उनी हेर्दा हेन्डसम थिए । जीममा उस्तै शोख राख्ने । अहिले पनि त्यो जोश छोडेका छैनन् ।
‘धेरै दिनपछि जीम गएको यी खुट्टाहरु दुःखिरहेका छन्,’ प्रेमिल कुराकानीको शिलशिलामै दीपकले थपे ।
त्यही बेलादेखि नै व्यवसायमा हात हालिसकेका थिए दीपकले । बुबाको व्यापार पहिलेदेखि छँदै थियो ।
मायामा डुबिसकेका दीपकलाई प्रेम प्रस्ताव राख्न धेरै लामो समय लागेन । दुई-अढाई महिनामै दीपक प्रेम प्रस्ताव राख्ने निर्णयमा पुगे ।
एक दिनको भेटमा दीपकले प्रेम प्रस्ताव राखे, ‘आइ लभ यु सविता ।’
सविता लजाइन ।
‘उसै त राम्री सविता लजाउँदा झन् राम्री देखिइन्,’ दीपकले सुनाए ।
सविताले पनि दीपकलाई मनपराइ सकेकी थिइन् । प्रेम प्रस्ताव सहर्ष स्वीकार गरिन् ।
औपचारिकरुपमै प्रेमीप्रेमिका बनेका दीपक सविताको जोडीको भेटघाट झन् बाक्लिँदै गयो ।
फोनमा कुरा गर्थे । समय मिलाउँथे । र, भेट्थे ।
व्यवसायीक घरानाका दीपकलाई खर्चको कमी थिएन । कहिले मोटरसाइकल दौडाउँथे त कहिले कारमा हुईंकिन्थे । साथमा हुन्थिन सविता । दीपक सुन्धाराको गणबहाल बस्थे । सविता पाटन ।
समय र ठाउँ मिलाएर उनीहरु भेट्थे । दिन निकै रमाइला भइरहेका थिए ।
दीपक-सविताको प्रेम एककान दुईकान हुँदै मैदान भयो । मानौं काठमाडौं सहरभरी नै दीपक-सविताको प्रेमको चर्चा छ ।
सहरमा सल्किएको त्यो चर्चा सविताको घरसम्म पुग्यो ।
सविताका बुबा कडा स्वभावका थिए । दीपकसँगको प्रेमको थाहा पाएपछि सवितालाई घरमा निकै गाह्रो भयो । उनलाई घरबाट निस्किन बन्देज लगाइयो । नजरबन्द नै लगाइयो ।
दीपकलाई पनि सविताको घरबाट चेतावनी र धम्कीहरु आउन थाले । कतिसम्म भने दीपकलाई सविताका अभिभावकले घरको छेउछाउसम्म पनि जान दिँदैनथे ।
‘जेठानले त मेरो गाडीमा ढुंगासमेत हान्नुभयो,’ दीपकले हाँस्दै भने ।
प्रेमको माहोल मिलाइदिन पवनलाई पनि तनाव भयो । पवनले पनि कुटाइ खाए ।
भेटघाट हुन सकेन । दीपक बेला-बेला सवितालाई फोन गर्थे । तर, लामो कुरा हुँदैनथ्यो । फोन पनि घरमा कसले उठाउँछ भन्ने पत्तो हुँदैनथ्यो ।
‘सविताले नै फोन उठाए कुरा हुन्थ्यो, अरुले उठाए फोन राखिदिन्थेँ,’ ती दिन स्मरण गर्दै दीपकले भने ।
यसैगरी वर्षदिन बिते ।
दीपक र सविताको प्रेम ख्यालठट्टाको थिएन । न त टिनएजरका हल्काफुल्का केटाकेटीको जस्तो । सवितालाई छोड्नेवाला थिएनन् उनी ।
‘त्यो मेरो पहिलो प्रेम थियो,’ दीपक भन्छन्, ‘र, साँचो प्रेम पनि । त्यसैले हाम्रो प्रेम कसैले छुटाउन सकेनन् ।’
दीपकको घरमा अन्तरजातीय विवाहका लागि कुनै समस्या थिएन । दीपकका बुबाले नै नेवारसँग विवाह गरेका थिए । सविताको घर भने ‘कन्जरभेटिभ’ थियो । पाटनको नेवार भनेपछि कडा संस्कारका थिए ।
सवितालाई वर्ष दिनसम्म नजरबन्द गरे पनि मायामा कमी आएन ।
बरु भेट्न नपाएकोमा छटपटी भयो । कहिले भेटौं, भेटौं भयो । फोनका आवाजले मात्र मनले मानेन ।
एकदिन दुबैले सल्लाह गरे, ‘अब भागौं ।’
‘मिलाएर घरबाट निस्कियौं र टाप कसियो,’ दीपक भन्छन् ।
दीपकले यो कुरा आफ्नो एक साथीलाई बाहेक कसैलाई थाहा दिएका थिएनन् । घरमा आएर तनाव दिन्छन् भन्ने उनले सोचेका थिए ।
घरबाट निस्केपछि एक हप्ता काठमाडौं त्रिपुरेश्वरमा लुकेर बसे । खोजविन चलिरहेको थियो ।
काठमाडौं बस्यो भने पत्ता लगाउँछन् भन्ने उनीहरुलाई लागिरहेको थियो । उनीहरुले काठमाडौं छोड्ने निर्णय गरे ।
हप्तादिनपछि थानकोटको नेटो काटेर धादिङ पुगे । त्यहाँ झन्डै १५ दिन बसे । त्यहाँबाट पनि अझै पर बिराटनगर हानिए । बिराटनगरमा केही दिन बसे ।
छोरीलाई दीपकले नै भगाएको भन्ने सविताको घरमा निश्चित भइसकेको थियो । त्यो थाहा पाइसकेपछि दीपकको घरमा सविताका बुबा, दाजुभाई जान थाले । तपाईंको छोराले हाम्री छोरी भगाएको भन्दै धम्की दिन थाले ।
‘तुरुन्त नबोलाएमा जे पनि हुनसक्छ,’ सविताको परिवारले दीपकको परिवारलाई धम्कायो ।
दुबै परिवारमा केही तनाव भयो । परिवारलाई टर्चर दिएको दीपकले थाहा पाए ।
उनीहरुलाई भेट्टाउने हुन् कि भन्ने चिन्ता बढ्यो ।
‘कति लुकेर बस्ने, कहाँ बस्ने ? भन्ने समस्या भयो,’ दीपक सम्झन्छन्, ‘हामी अझै टाढा जाने निर्णय गर्यौं ।’
उनीहरु देश नै छोडेर दिल्ली पुगे । दिल्ली पुगेपछि अलि स्वतन्त्रताका महशुस गर्यो दीपकको जोडीले । दिल्लीमा मस्त घुमे । डेढ-दुई महिना दिल्ली बसेर काठमाडौं फर्किए ।
खोज्ने काम शिथिल भइसकेको थियो ।
दिल्लीबाट फर्किएका दीपक घरमा बसिरहेका थिए । दिउँसो एकजना मान्छे आए ।
‘तपाईंलाई अञ्चलाधीशले बोलाउनु भएको छ,’ ती मान्छले भने ।
‘किन बोलाउनु भएको ?’ दीपकले प्रश्न गरे ।
‘खै, केही थाहा भएन,’ ती व्यक्तिले भने ।
उनी भेट्न गए ।
दीपकलाई ती व्यक्तिले पहिलो प्रश्न राखे, ‘बाबुले विवाह गर्नुभयो ?’
‘मैले गरिसकेँ,’ उनले भने ।
‘के छ प्रमाण,’ अर्को प्रश्न आयो ।
‘प्रमाण त केही छैन । तर, बिहे चाहीँ गरिसकेँ,’ दीपकले जवाफ दिए ।
‘त्यसरी हुन्न नि, प्रमाण चाहिन्छ,’ ती व्यक्तिले भने, ‘ल, कोर्ट म्यारिज गर्नुस् ।’
सविताका बुबा जति आक्रेशित थिए, त्यत्ति नै संयमित पनि । केटाकेटीले मन पराएर भागिसके, दुई महिनपछि जोडी छुटाउनुको कुनै अर्थ छैन भन्ने मनस्थितिमा पुगिसकेका थिए ।
अबको चिन्ता ज्वाईंले छोरी नछाडून् भन्ने थियो उनलाई । त्यसैले त कोर्ट म्यारिज गरेर पक्का गर्न चाहेका रहेछन् ।
‘मेरो ससुरा एकदमै पक्का मान्छे । दुई महिना भएपछि छोरीलाई फिर्ता लैजाने भन्ने कुरा भएन,’ दीपकले भन्छन्, ‘ससुराको चाहना केटाले नछाडिदिओस् भन्ने थियो ।’
अब सहज भयो दुबै परिवारमा । कोर्ट म्यारिज गरेको केही दिनमा सविता माइत गइन् । केही महिनापछि मात्र ससुराली गए दीपक ।
नाता सुमधुर भयो । कुनै बेला गाडीमा ढुंगा हानेका जेठान अझ प्यारा हुनथाले । ससुराबुबा आफ्नै बुबाजस्ता ।
‘अहिले त सबैभन्दा प्यारो ज्वाँईं मै हुँ,’ दीपक गर्व गर्दै भन्छन् ।
केही दिनअघि दीपकको विवाहको ४०औं वर्ष पुगेको छ । कोरोना संक्रमण बढेकाले विवाह एनिभर्सरी मनाउन पाएनन् ।
चार दशकको इतिहास सुन्धाराको गढवाल र पाटन बजारमात्र बदलिएको छैन, दीपक र सविताको घर पनि परिवर्तन भएको छ । प्रेम विवाह सामान्य भएको छ । अन्तरजातीय विवाह पनि स्वीकार हुनथालेको छ ।
अन्तरजातीय विवाहले मल्होत्राको परिवार समावेशी बनेको छ । दीपकका बुबाले नेवार विवाह गरे । त्यसपछि दीपकले पनि नेवार । क्षेत्री र तामाङका छोरी पनि मल्होत्राका परिवारमा आएपछि सामावेशी परिवार बनेको दीपक बताउँछन् ।
दीपकका छोरा, छोरी, दुई बहिनीहरुको पनि प्रेम विवाह भएको छ ।
उनका छोरा डिकेश मल्होत्राले पूर्वमिसनेपाल जेनिशा मोक्तानसँग विवाह गरेका छन् ।
कतिले त दीपकलाई नेवार परिवार नै भन्छन् । भारतका नेपाल आएका मल्होत्रा परिवार शुरुदेखि नै नेवार समूदायमा हुर्किए । आमा नेवार भएकाले दीपक मामा घर जाँदाजाँदै नेवार राम्रोसँग बोल्ने भइसकेका थिए ।
‘मैले नेवारी बोलेको सुन्ने कतिलाई नेवारमा पनि मल्होत्रा थर रहेछ भन्ने ठाने,’ दीपक भन्छन्, ‘म नेवारी भाषा स्पष्टरुपमा बोल्छु ।’