केन्द्रिय सरकारको बिकास बजेट ३ खर्ब ३५ अर्ब मात्रै



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको विकास अर्थात् पुँजीगत बजेट छुट्याएको छ । चालू आर्थिक वर्षमा यस्तो बजेट ३ खर्ब ११ अर्ब रुपैयाँ थियो ।

चालु आर्थिक वर्षकोभन्दा बजेटको आकार २२ प्रतिशतले बढे पनि विकास बजेट भने कम मात्रै बढेको हो ।

स्थानीय तहलाई ७६ अर्ब रुपैयाँ सीधै अनुदान दिने भएकाले र त्यो रकम स्थानीयस्तरमा विकास निर्माणमा खर्च हुने भन्दै सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै विकास खर्च छुट्याएको हो ।

अर्थमन्त्रीले आगामी आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँको बजेट सार्बजनिक गरे ।

यसमध्ये चालु खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख रुपैयाँ छ भने पुँजीगत खर्च तर्फ ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख रुपैयाँ छ । वित्तीय ब्यवस्थापन तर्फ १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख रुपैयाँ छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले सार्बजनिक गरेको बजेटमा खर्चका स्रोतमध्ये राजस्वबाट ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख रुपैयाँ छ भने बैदेशिक सहायता ७२ अर्ब १७ करोड २८ लाख, बैदेशिक ऋणबाट २ खर्ब १४ अर्ब र आन्तरिक ऋणबाट १ खर्ब ४५ अर्ब जुटाइने छ । चालु खाताको नगद मौज्दातबाट १ खर्ब रुपैयाँ बजेट स्रोतको ब्यवस्था गरिने भएको छ ।


पुष्प दुलाल