बीमामा बेथिति: सीइओ भएका व्यक्ति डेपुटी भएर जान्छन्




काठमाडौं । बीमा बजारमा नयाँ कम्पनीहरू थपिएसँगै थप दक्ष कर्मचारीहरुको खोजी हुन थाल्यो ।

तर, बजारमा बीमा सम्बन्धी दक्ष जनशक्तिकाे अभाव कायमै रहँदा कम्पनीहरुबीच कर्मचारी तानातानको अवस्थासमेत सिर्जना भयो । नयाँ कम्पनीहरूले पनि अनुभवी कर्मचारी नै खोज्न थाले ।

र, नयाँ बीमा कम्पनीले पुराना बीमा कम्पनीमा राम्रो काम गरेका र अनुभवी कर्मचारीलाई आफ्नो कम्पनीमा ल्याउन प्रयत्न गरे । पुराना कर्मचारी आएमा सहज हुने भएपछि कर्मचारी तान्ने प्रवृत्ति बढ्दै गयो ।

कर्मचारी एक कम्पनीबाट अर्को कम्पनीमा जाने प्रक्रिया सामान्य प्रक्रिया हो । जुन प्रक्रिया निजी कम्पनीमा स्वाभाविक नै मानिन्छ ।

अवसर पाउने वित्तिकै मानिस ‘मुभ’ हुन चाहान्छ ।

कुनै एक कम्पनीबाट अर्को कम्पनीमा जागिरका लागि जाने प्रवृत्तिलाई स्वाभाविक मान्नु पर्ने बीमा विज्ञहरु बताउँछन् । करिअर ग्रोथका लागि एक कम्पनीबाट अर्को कम्पनी जान पाउनु अधिकारको कुरा समेत रहने उनीहरुको तर्क छ ।

बीमा विज्ञ भोजराज शर्मा बीमा कम्पनीमा एक कम्पनीबाट अर्को कम्पनीमा जाने अभ्यास विदेशी मुलुकमा पनि हुने बताउँछन् ।

यस्तो अभ्यासले गर्दा कर्मचारीको करिअर ग्रोथ हुने उनको तर्क छ ।

‘जहाँ राम्रो काम गर्ने वातावरण हुन्छ, जसले स्वतन्त्ररुपमा काम गर्न दिने वातावरण मिलाइ दिन्छ, यस्तो अवस्थामा मुभ हुनैपर्छ,’ शर्माले क्लिमाण्डूसँग भने,‘ विदेशी मुलुकमा पनि यस्तो अश्यास छ । कोही पनि लामो समयसम्म एउटै कम्पनीमा बस्दैन ।’

यसरी नेपाली बीमा बजारमा पनि एक कम्पनीबाट अर्को कम्पनीमा जाने अभ्यासलाई राम्रो मान्नु पर्ने उनको बुझाइ छ ।

‘जहाँ राम्रो देख्छ । त्यहाँ जान्छ । त्यो प्रवृत्ति ठीक छ । करिअर ग्रोथको अवसर पनि हो,’ उनले थपे ।

कुलिङ पिरियडको व्यवस्था छल्न गरेर तल्लो तहमा जानु आफ्नो इज्जत तल पार्नु हो ।

राष्ट्र बैंकले सीइओको कुलिङ पिरियड सम्बन्धी ल्याएको व्यवस्थालाई बीमा समितिले फलो गर्यो । जुन व्यवस्था राम्रो हुने उनको बुझाइ छ ।

तर, अर्को कम्पनीको सीइओ बन्नकै लागि आफूले काम गरिरहेको कम्पनी छोडेर अर्काे कम्पनीमा तल्लो पदमा जानुलाई भने स्वभाविकरुपमा लिनु नहुने उनी बताँउछन् ।

‘सीइओ भएको मान्छे डिसीइओमा जानुले आफ्नो इज्जतलाई तल पार्छ कि,’ उनले भने, ‘कुलिङ पिरियडको अवधिभरी घरमै बसेर पछि म आउँछु भनेर कुलिङ पिरियड पछि नियुक्ति लिनु राम्रो हुन्छ ।’

यद्यपि जनशक्ति परिपूर्ती गर्नका लागि राम्रो हुने उनको तर्क छ । सीइओ भएको व्यक्ति तल्लो तहमा जाँदा नयाँ कम्पनीले अनुभवी जनशक्ति पाउने उनको भनाइ छ ।

कुलिङ पिरियडको व्यवस्था छल्दै सीइओ

रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली पुस १२ गते ४ वर्षे कार्यकाल सकाएर रिलायन्सबाट विदा भए ।

पराजुली रिलायन्स लाइफ इन्स्योरेन्स स्थापना भएपछि संस्थापक सीइओ बनेका थिए । रिलायन्समा अझै एक कार्यकाल सीइओ बन्न पाउने व्यवस्था भएता पनि उनी बाहिरिए ।

पराजुली बाहिरिएपछि रिलायन्सले कामु प्रमुख कार्यकारी अधिकृतमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल नियुक्त भए । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै कँडेललाई कामु सीइओको जिम्मेवारी दियो ।

रिलायन्स लाइफको कम्पनी सञ्चालक समितिको पुस १४ गते बसेको बैठकले राकेश पोखरेललाई सिइओ नियुक्त छनौट गरी सिफारिस गर्यो ।

माघ १३ गतेदेखि लागू हुने गरी पोखरेललाई सिइओ पदमा नियुक्त गरियो । पोखरेललाई सिइओ नियुक्त गर्न बीमा समितिले माघ ७ गते स्वीकृती दियो ।

पुष १२ गते रिलायन्स लाइफबाट बाहिरिएका पराजुली माघ २५ गते नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ डेपुटी सीइओमा नियुक्त भए ।

नियामक निकाय बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार पराजुली ६ महिनासम्म अर्को बीमा कम्पनीमा सीइओ बन्न पाउने छैनन् । तर, सीइओ बन्न नपाए पनि पराजुली वरिष्ठ डेपुटी सीइओ बनेर नेपाल लाइफ भित्रिए ।

प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले कार्यकाल सकिन २ महिना बाँकी छँदै गत असोजमा पदबाट राजिनामा दिए । उनले कात्तिक १ गतेदेखि लागू हुनेगरी राजिनामा दिएका थिए ।

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिले कार्तिक ५ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गर्यो ।

प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो राजीनामा स्वीकृत गरेपछि महर्जन कात्तिक ७ गते नै नेपाल इन्स्योरेन्समा प्रवेश भए । राजीनामा स्वीकृत भएको भोलिपल्ट नै नेपाल इन्स्योरेन्सले महर्जनलाई कामु सीइओको जिम्मेवारी दियो ।

सगरमाथा इन्स्योरेन्सका डेपुटी सीइओ श्रवण कुमार रावलले पदबाट राजीनामा दिए ।

प्रुडेन्सियल इन्स्योरेन्सले श्रवणलाई कात्तिक ४ गतेदेखि इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दियो ।

बिके महर्जनले कार्यकाल नसकिँदै राजीनामा दिएपछि प्रुडेन्सियल इन्स्योरेन्सको सीइओमा रावल नियुक्त भए । कम्पनी सञ्चालक समितिको पुष २० गते बसेको बैठकले रावललाई सिइओ नियुक्त गर्यो ।

गुराँस लाइफ इन्स्योरेन्समा विपिन कुमार लाल नियुक्त भए । कम्पनीका सीइओ नारायण कुमार भटट्राईले कार्यकाल सकिनु अगावै राजीनामा दिएका थिए ।

सीइओ भट्टराईले व्यक्तिगत कारण देखाई असोज १९ गते पदबाट राजीनामा दिए । उनको राजीनामा कात्तिक १ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिले स्वीकृत गर्यो ।

जनरल इन्स्योरेन्सले व्यवसाय थालनी गरेको लामो समयसम्म पनि कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको थिएन ।

इन्स्योरेन्सको सिइओमा राम चन्द्र श्रेष्ठ नियुक्त भए ।

सिद्धार्थ इन्स्योरेन्सका सीइओ विरेन्द्र वैद्धवारको कार्यकाल दोहोरियो ।

कानूनमा भएको व्यवस्थालाई रोक्न सकिँदैनः बीमा समिति

कुनै एक कम्पनीको प्रमुख कार्यकारी अधिकृत तत्काल अर्को कम्पनीमा सोही पदमा नियुक्त गर्न नपाउने व्यवस्था रहेको र सो व्यवस्था सीइओको लागि मात्रै लागू हुने समितिको भनाइ छ ।

सीइओ पदबाट बाहिरिएको व्यक्ति अर्को कम्पनीमा तल्लो पोष्टमा जानुलाई स्वभाविकरुपमा लिन सकिने समितिको भनाइ छ । सीइओ पदका लागि मात्रै कुलिङ पिरियड लागू हुने समितिको भनाइ छ ।

तर, कम्पनीहरुले एक तह घटाएर ६ महिनाको कुलिङ पिरियड सकिएपछि भने प्रमुख कार्यकारी अधिकृतमा नियुक्त दिने प्रवृत्तिलाई रोक्न नसकेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।

‘हाम्रोमा त्यस्तो प्रवृति छ, तर त्यसलाई हामीले रोक्न पनि सकेकोे छैनौं,’ क्लिकमाण्डूसँग सिलवालले भने ।

बजारमा बीमाका दक्ष जनशक्ति नहुँदा पनि यस्तो अवश्था सिर्जना भएको उनको बुझाइ छ । बजारमा बीमा बुझेका नयाँ मान्छेहरु आएमा यस्तो प्रवृत्ति रोक्न सकिने उनले बताए ।

‘हामी कहाँ बीमाका बारेमा बुझेका मान्छे पनि छैनन्,’ उनले भने,‘एउटै मान्छेले रनिङ गर्ने हो ।’

यस्तो छ बीमा कम्पनीका सीइओका लागि कुलिङ पिरियडसम्बन्धी व्यवस्था

बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागू हुने व्यवस्था छ । एउटा कम्पनीबाट राजिनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सीइओ बन्न नपाउने व्यवस्था छ ।

समितिले कुलिङ पिरियड सम्बन्धी व्यवस्था गरे पनि सो व्यवस्थाको दुरुपयोग कम्पनीहरुले गर्दै आएका छन् ।

बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार एउटा कम्पनीबाट राजिनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सीइओ बन्न नपाउने व्यवस्था छ ।

कम्पनीहरुले उक्त व्यवस्थाको दुरुपयोग गर्दै तल्लो तहमा नियुक्त गर्ने र कुलिङ पिरियड सकिएपछि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने रणनीति अपनाउँदै आएका छन् ।


बिजया बास्कोटा