कपिलवस्तुमा ४५ करोड लगानीमा ५० शैय्याको सरुवा रोग अस्पताल बन्ने



काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सरुवा रोग अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशमा सो अस्ताल निर्माण गर्ने तयारीका साथ वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश गरेको छ ।

उक्त अस्पताल सहरी विकास तथा भवन कार्यालय भैरहवा, रुपन्देहीले निर्माण गर्नेछ । सरकारले हरेक प्रदेशमा ५० शैय्याको अस्पताल निर्माण गर्ने योजना अन्तर्गत प्रस्तावित अस्पताल संघको लगानीमा अस्पताल निर्माण गर्न लागिएको सरकारले जनाएको छ ।

सरकारले कपिलवस्तु जिल्ला शिवराज नगरपालिका चन्द्रौटाको वन क्षेत्रमा पर्ने करिब ६५ हजार १ सय ४४ वर्गमिटर (९.६२ बिगाह) जग्गामा आधुनिक सरुवा रोग अस्पताल निर्माण गर्ने भएको हो ।

सरकारले सो क्षेत्रमा ब्लक ए, ब्लक बी, ब्लक सी, ब्लक डी, ब्लक इ र र्याम्प स्ट्रक्चरको संरचना निर्माण गर्नेछ । जसमा निर्माणको पहिलो चरणमा ५० देखि १ सय कामदारका लागि शिविर र ०.२५ हेक्टर जमिनमा शुरु गरिने जनाएको छ ।

सरकारले कात्तिकबाट शुरु भई करिब १९ महिनामा कार्य सम्पन्न गर्ने जनाएको छ । सरकारले तयार गरेको वातावरणीय मूल्याङ्कन अनुसार पहिलो तलामा सोधपुछ, रजिस्ट्रेशन, फार्मेसी, इमेरजेन्सी, अपरेशन थिएटर, लेप्रोसी एण्ड डोट्स, इसीजी, यूएसजी, एक्सरे, पाथ्योलोजी,वासिङ एरिया र एक्टोक्लेभको व्यवस्था हुनेछ ।

त्यस्तै, दोस्रो तल्लामा जेनरल वार्ड, क्याबिन, आइसोलेशन क्यबिन, आइसीयू, मिटिङ रुम, स्टाफ रुम, एडमिनिस्ट्रेशन रुम, मेट्रोन रुम, रिसेप्सन, डाइरेक्टर रुम, वासरुम र लाउड्रीको व्यवस्था हुनेछ ।

सरकारले ६५ हजार वर्गमिटरमा फैलिएको क्षेत्रफलमध्ये अस्पताल भवन २५६४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ भने कर्मचारी वासस्थान ६०८४ वर्गमिटरमा, बगैंचा÷पार्क क्षेत्र ११ हजार ८५२ वर्गमिटरमा, पार्किङ क्षेत्र ३३८६.३२ वर्गमिटरमा, फोहोर व्यवस्थापन ५५७.४२ वर्गमिटरमा र खुल्ला क्षेत्र तथा अन्य क्षेत्रका लागि ४० हहजार ७००.५६ वर्गमिटरको क्षेत्रफल छुट्टाइएको छ ।

सरकारले सो अस्पताल ४५ करोड ३८ लाख रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरेको छ ।

सो अस्पतालबाट एआईभी÷एड्स, क्षयरोग, औलो, जनावर टाकाइ, कुष्ठरोग, कालाजार, डेंगु, फाइलारियसिस, पाचण प्रणाली सम्बनधी संक्रमण, श्वासप्रश्वास प्रणाली सम्बन्धी संक्रमण, बिबिराजन्य रोग, हाँडे, छाला तथा नरम तन्तु संक्रमण, आँखा सम्बन्धी संक्रमण, नाक र कानाको संक्रमण, मुख सम्बन्धी संक्रमण र प्रजनन तथा यौन रोगको उपचार तथा प्रेषण हुनेछ ।


क्लिकमान्डु