उदयपुर सिमेन्टमा महाप्रबन्धक न्यौपानेको एकवर्ष: उत्पादन दोब्बर, १४ वर्षपछि साधारणसभा



काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेको गोपिकृष्ण न्यौपानेको कार्यकाल एक वर्ष पूरा भएको छ ।

एक वर्ष पूरा भएको अवसरमा न्यौपानेले यस अवधिमा भएका उपलब्धी सार्वजनिक गरेका छन् । जसमध्ये न्यौपानेले आफू महाप्रबन्धक भएयता सिमेन्ट उत्पादन दोब्बर बनाइएको दाबी गरेका छन् ।

‘गत वर्ष सिमेन्ट मिलबाट प्रतिघण्टा २० मेट्रिक टनका दरले उत्पादन भइरहेकोमा पछिल्लो १ वर्षमा उत्पादन बढेर प्रतिघण्टा ४३ मेट्रिक टनका दरले भइरहेको छ । यसबाट उत्पादन बढ्नुका साथै विद्युत् खतपमा पनि मितव्ययिता अपनाइएको छ,’ उनले भने ।

पछिल्लो एक वर्षमा क्लिंकर १ लाख ४ हजार १८५ मेट्रिक टन उत्पादन भएको छ भने सिमेन्ट बिक्री परिमाण १९ लाख ६९ हजार ३८३ बोरा भएको छ । साथै, सिमेन्ट बिक्रीबाट १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको छ ।

उनका अनुसार यस आर्थिक वर्षमा उल्लिखित बिक्रीबाट मूल्य अभिवृद्धिकर वापत ७ करोड ९१ लाख २ हजार २ सय ९३ रुपैयाँ, अन्तस्शुल्क वापत ९९ लाख ३८ हजार ८ सय ९६ रुपैयाँ, टिडीएस तथा अन्य कर वापत ८२ लाख ६९ हजार ३ सय २८ रुपैयाँ, विद्युत महशुल वापत १३ करोड २४ लाख ६ हजार ५४ रुपैयाँ गरी राजश्व तथा महशुल वापत २२ करोड ९७ लाख १६ हजार ५ सय ६१ रुपैयाँ भुक्तानी भइसकेको छ ।

साथै कच्चा पदार्थ पिस्ने मिलमा लगाइएको तीन वटा रोलरमध्ये एउटा विगत केही वर्षदेखि बिग्रिएर संचालनमा नआएको करण रमिलको उत्पादन कम भई रहेकोमा यस वर्ष उक्त बिग्रिएको रोलर मर्मत तथा रमिलमा जापानबाट सेलोनाइड भल्व आयात गरी फेरे पश्चात रमिल उत्पादनमा उल्लेख्य प्रगति विद्युत खपतमा समेत मितव्ययिता भएको उद्योगको भनाइ छ । हाल जिविएफ फ्यानमा नयाँ मोटर जडान गरी संचालन गरिएको छ। एसपि फ्यानका लागि एक थान मोटर २ करोड रुपैयाँ खरिद गरी स्टकमा राखिएको छ । तीन वर्ष अवधि यो मोटरमा समस्या आउँदा लामो समय उद्योग बन्द गर्नु परेको थियो ।

२०७७ साल माघ महिनामा कमिटी गठन गरी पुस मसान्तसम्मको स्टक मौज्दातको भौतिक परीक्षण गर्दा क्लिंकरको परिमाणमा लेखामा रहेको स्टक परिमाण र वास्तविक भौतिक परीक्षणको क्रममा रहेको वास्तविक परिमाणमा ३७,६४० मेट्रिक टन कम देखिएकाले यसको सम्बन्धमा तथ्यसत्त्य छानबिन गर्न सञ्चालक समितिमा पेस भइ सञ्चालक स्तरीय एक कमिटी गठन भइ छानबिनको क्रममा रहेको छ ।

साथै, लामो समयदेखि वक्यौता रहेको विद्युत महसुल डेडिकेटेड फिडर बापत बढी तिरेको महसुलसंग मिलान गरिदिन पहल गरी पत्राचार भएको र २०७७ साल चैत महिनादेखि नियमित भुक्तानी गरिएको न्यौपानेको भनाइ छ ।

गत वर्षको पुस मसान्तसम्म ६५ करोड ८२ लाख दायित्त्वमध्ये विद्युत् महशुल १८ करोड ५२ लाख रुपैयाँ बाहेक अन्य भुक्तानी नियमित गर्दै ३१ करोड ११ लाख भुक्तानी भइसकेको उनको भनाइ छ
यसमा लगभग १३ करोड राजस्व बक्यौता रहेकोमा ४ करोड समेत भुक्तानी भइसकेको उनले बताए ,

कोइला खरिदमा बोलपत्रको माध्यमबाट प्रतिष्पर्धा गराइनुको साथै गुणस्तरमा समेत ध्यान दिएको परिणामस्वरूप पहिले १ टन कोइलाबाट ३.५ मे. टन क्लिंकर पाक्ने गरेकोमा अहिले १ टन कोइलाबाट ५ टन पाक्न थालेको छ । यसबाट खर्च मितव्ययिता भएको उनको भनाइ छ ।

उद्योगको आर्थिक वर्ष २०६३/६४ देखि २०७६/७७ सम्म १४ वर्षको वार्षिक साधारणसभा सम्पन्न गरि २०४४/४५ देखिको सम्पूर्ण विवरण कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गराइ सेयरधनी लगत, प्रबन्ध पत्र नियमावलीमा संशोधन, पुंजी वृद्धी गरी अधिकृत पूँजी १० अर्व कायम गर्ने कार्यहरु सम्पन्न भएको उनको भनाइ छ।


क्लिकमान्डु