कोरोनाका कारण नागरिक उड्डयन प्राधिकरणको आम्दानी ६७% ले घट्यो



काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा असर परेको क्षेत्रमध्येको एक हो नेपालको हवाई उड्डयन क्षेत्र । कोरोनाका कारण लामो समयसम्म आन्तरिक र बाह्य हवाई उडान हुन नसक्दा त्यसको असर नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा देखिएको छ ।

क्यानका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कुल ९ अर्ब १ करोड १८ लाख रुपैयाँ आम्दानी भएकोमा गत आव २०७७/७८ मा आम्दानी घटेर २ अर्ब ९५ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ । जबकी यो आम्दानी अघिल्लो आव अर्थात् २०७६/७७ मा २९ प्रतिशतले घटेर ६ अर्ब ३७ करोड ४९ लाख रुपैयाँमा सीमित भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणको पुँजीगत खर्चतर्फ ३० अर्ब ६४ करोड ४८ लानख, कार्य सञ्चालन खर्चतर्फ ३ अर्ब ५६ करोड ६० लाख रुपैयाँ, आयकर तथा अन्य खर्च ६ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ गरी जम्मा ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ व्यय अनुमान गरिएकोमा पुँजीगततर्फ ११ अर्ब ३६ करोड २८ लाख रुपैयाँ, कार्य सञ्चालन खर्च २ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ र आयकर तथा अन्य खर्च २ अर्ब ७० करोड १८ लाख रुपैयाँ गरी जम्मा १६ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ ।

चालु आवमा प्राधिकरणले पुँजीगततर्फ ३२ अर्ब ३ करोड ५५ लाख र कार्य सञ्चालनतर्फ ४ अर्ब १० करोड ८४ लाख रुपैयाँ गरी जम्मा ३६ अर्ब १४ करोड ३९ लाख रुपैयाँ छुट्याइएको छ । त्यसैगरी आम्दानी २७ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्राधिकरणले २३औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ९८.८६ प्रतिशत पुगेको छ । साथै अब रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहाय उपकरणहरु, ब्यागेज ह्यान्डलिङ सिस्म, एक्सरेआदि उपकरण जगान कार्य सम्पन्न भइसकेको छ ।

साथै विमानस्थलमा क्याटेगोरी आईक्सको अग्नी निवारण तथा जीवनोद्वार सेवाका लागि आधुनिक दमकल तथा एम्बुलेन्स ल्याइएको छ । त्यसैगरी आइसीबी–०१ अन्तर्गतको एजीएल, सिग्नेज तथा अन्य उपकरण जडान एवम् रनवे लाइट परीक्षण कार्य सम्पन्न तथा फर्निचर फर्निसिङ सम्बन्धी कार्य अन्तिम चरणमा रहेको क्यानको भनाइ छ । साथै विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि पनि तयारी भइरहेको बताएको छ ।

त्यसैगरी पोखरा विमानस्थलको हालसम्म निर्माण कार्य ८९ प्रतिशत सम्पन्न भइसकेको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । विमानस्थल क्षेत्रमा रहेका रुख विरुवाहरुको गणना गर्ने कार्य प्रदेश वन डिभिजन कार्यालयबाट भइरहेको छ ।


क्लिकमान्डु