बाँसबारीमा ५०० करोड लगानीमा होटल बन्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ बाँसबारीमा डबल ट्रि बाई हिल्टन होटल बन्ने भएको छ । अष्ट्रेलियन दुतावाससँगै जोडिएको स्थानमा होटल बन्ने भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा सबैभन्दा बढी दुतावास, उच्च स्तरीय अस्पतालहरू भएकाले काठमाडौं चक्रपथ नजिकै रहेको बाँसबारीमा तारे होटल बनाउने भएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त क्षेत्रमा तारे स्तरको होटल बनाउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई गुणस्तरीय सुविधा दिने दाबीका साथ निर्माण गर्ने जनाएको छ ।

कम्पनीले बाँसबारीमा ५ रोपनी १ आना १ पैसा ३.६ दाम (२५९८.५६ वर्गमिटर) जग्गाको क्षेत्रफलमा बनाउने भएको छ । जसमा कुज जग्गाको १०३२.२८ वर्गमिटर (३९.७२ प्रतिशत) जग्गाको क्षेत्रफलमा होटलको भवनले बन्नेछ । त्यस्तै, ११ हजार ५८२ वर्गटिमर क्षेत्रफलमा भवनको तल्ला, ५०.२८ खुल्ला क्षेत्र र १० प्रतिशत हरियाली क्षेत्रफल हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सो क्षेत्रफलमा भूमिगत तल्लाबाहेक १४ तल्लाको बन्नेछ । उक्त होटलमा १ सय २२ वटा कोठा, २ सय शैय्यको व्यवस्था हुनेछ । तर, भवनको संख्या भने १ वटा मात्रै रहनेछ ।

कम्पनीकोअनुसार ५९ मिटर अग्लो हुनेछ । सो होटल निर्माणका लागि कम्पनीले ५०० करोड रुपैयाँ लगानी हुने अनुमान गरेको छ ।

कम्पनीअनुसार होटलमा भूमिगत २२६२.२० वर्गमिटर क्षेत्रफलमा पार्किङको व्यवस्था हुनेछ । उक्त पार्किङ क्षेत्रमा ५० वटा कार र १ सय मोटरसाइकल अट्नेछ ।

त्यस्तै, भूई तल्ला १०३२.२८ वर्गमिटर क्षेत्रफलमा रिसेप्सन, रेष्टुरेण्ट, डाइनिङ् हल, लवी र कार्यालयहरू हुनेछ । पहिलो तल्ला १०३२.२८ वर्गामिटर क्षेत्रफलमा किचन, मिटिङ हलको व्यवस्था हुने कम्पनीले जनाएको छ । त्यसैगरी, दोस्रो तल्ला ७३४ वर्गमिटर क्षेत्रफलमा स्पा, स्विमिङ् पुल, मिटिङ् हल, जिम हलको व्यवस्था हुनेछ ।

साथै, तेस्रो तल्लादेखि १२औं तल्लासम्म ६३२ वर्गमिटर क्षेत्रफलमा पाहुना कोठाको व्यवस्था हुनेछ । १० वटा तल्लामा १२२ कोठा हनेछ भने १३औं तल्लामा २ सय वटा शैय्यासहित रेष्टुरेन्ट र लाउन्जको व्यवस्था हुने कम्पनीको भनाइ छ । उक्त होटल निर्माण गर्दा ८० जना कामदारले रोजगारी पाउने जनाएको छ ।


क्लिकमान्डु