कागजका वस्तुमा रमाउँदै रमिता, २५ हजारको लगानीबाट कमाउँछिन् मासिक ३० हजार
काठमाडौं । स्नातक पढ्दै गर्दा रमिता महर्जन र उनका साथीहरुले फोहोर व्यवस्थापन कार्यशालामा पेपर प्रस्तुत गर्नुपर्ने थियो ।
उनीहरुले सामाजिक सञ्जाल र युट्युबतिर विषय खोज्न थाले ।
खेर गएका पत्रिकाबाट विभिन्न वस्तु बनाउन सकिन्छ भन्ने धेरै सामाग्री उनीहरुले भेट्याए । उनीहरुले निधो गरे, यसै विषयमा पेपर प्रस्तुत गर्ने ।
साथीहरू मिलेर युट्युब हेर्दै प्रयोगविहिन पत्रिकाका विभिन्न वस्तु बनाए ।
वस्तु बनाएरमात्र हुदैनथ्यो, बिक्री पनि गर्नु पर्थ्यो । बिक्री हुँदैनन् कि भन्ने उनीहरुलाई लागिरहेको थियो । तर, उनीहरुले सोँचेभन्दा उल्टो भयो, सामग्री सजिलोसँग बिक्री भयो ।
‘हामीले कलेजमा पत्रिकाका विभिन्न बस्तु बनाएर प्रस्तुत गरेका थियौं,’ महर्जनले भनिन्, ‘कुनै झन्झटविना हाम्रो वस्तु बिक्री भए ।’
सो कार्यशालाबाट उनीहरूले आम्दानी मात्रै गरेनन् । कलेजबाट पुरस्कार पनि हात पारे । थोरै लगानीमा कसरी व्यवसाय शुरु गर्न सकिन्छ भनेर उनले त्यहीबाट थाहा पाइन् ।
त्यही कलेजको प्रोजेक्टले उनलाई व्यवसायतिर डोहोर्यायो ।
ललितपुरको पाटनमा जन्मिएकी रमिताले २५ वर्षको उमेरमा २०७३ मा ‘लहना हस्तकला’ दर्ता गरिन । लगानी २५ हजार थियो ।
उनले पुराना पत्रिका र कागजबाट बास्केट, लुगा राख्ने भाँडो, पेन, पेन होल्डर, कानमा लगाउने गरगहना, घाँटीमा लगाउने माला, हातमा लाउने माला, डस्टबिन, सरसामान राख्ने भाँडा विभिन्न प्रकारका कोठामा सजावटका वस्तुहरू बनाउँछिन् ।
कागज र पत्रिकाबाट बनेको वस्तुको मूल्य ७५ रुपैयाँदेखि २५ सय रुपैयाँसम्म पर्छ ।
उनले यी वस्तु बिक्री गरेर मासिक ३० देखि ४० हजारसम्म कमाउँछिन् । ‘मैले घरबाटै शुरु गरेको व्यवसायबाट आफूलाई चाहिने सम्पूर्ण सामग्री जोड्न सफल भएकी छु,’ उनले भनिन् ।
उनको व्यवसाय मौसमअनुसार हुन्छ । जति धेरै मेलामा सहभागी हुनपाउँछिन, त्यत्ति धेरै व्यापार हुन्छ । युट्युब हेरेर सिकेको कलाबाट मनग्य आम्दानी गर्ने भइन ।
त्यस्तै, उनले अहिले फेसबुक, इन्स्टाग्राममा आफ्नो व्यवसायको बजारीकरण गर्दै आएकी छिन् । आगामी दिनमा भने उपयुक्त स्थानमा आफ्नो स्टोर खोलेर सबैलाई सेवा दिने बताइन् ।
‘मैले कलेजको कार्यशालामा खासै ध्यान दिएको थिइन्,’ उनले क्लिकमाण्डूसँग भनिन्, ‘युट्युब हेर्दै पत्रिकाबाट बनाएका वस्तुको प्रयोग होला र भन्ने लागेको थियो ।’
आफ्नै घरमा भएको कागज, क्यालेन्डरबाट विभिन्न सामान बनाउन शुरु गरेकी रमिताले परिवारकै सहयोगमा २५ हजार लगानी गरेकी थिइन ।
‘शुरुमा मैले घरको पत्रिका र कागजबाट बनाउन शुरु गरेकी थिए,’ उनले भनिन्, ‘पछिल्ला दिनमा भने छिमेकीहरूले पनि पत्रिका तथा कागज मलाई दिन थाले ।’
उनले कार्यशालाबाहेक अन्य सीप युट्युवबाटै सिकिन ।
लाखौंको व्यवसाय भए पनि छुट्टै स्टोर भने राख्नु परेको छैन । आफूले बनाएका वस्तु फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत अन्य सामाजिक सञ्जालबाट बिक्री गरिरहेकी छन् ।
‘अहिलेसम्म अनलाइनबाटै व्यवसाय गरिरहेकी छु,’ उनले भनिन्, ‘अब भने स्टोर खोल्ने तयारीमा छु ।’
व्यवसाय शुरु गरेकै वर्ष उनले हस्तकला महासंघको मेलामा सहभागी भइन । सोही मेलाबाट धेरै प्रेरणा मिलेको उनी बताउँछिन् ।
‘यो मेरो भाग्य नै भन्नुपर्छ व्यवसाय शुरु गरेको केही महिनामै मेलामा भाग लिन पाएँ,’ उनले खुसी हुँदै भनिन्, ‘मेलाबाट धेरै सिक्न पाएँ ।’
मेलामा सहभागी हुँदा राम्रो पक्ष र नराम्रो पक्ष के के छन्, अनुभव गर्न पाइन । ग्राहकहरूको मनसाय बुझ्न पाइन ।
‘शुरुशुरुमा कागजका वस्तु भनेपछि कसैले पत्याउँदैनथे,’ उनले भनिन् ।
मेलामा आफ्नो व्यापार गर्न निकै चुनौती थियो । आफूले बनाएको वस्तुको विश्वास जित्न धेरै प्रयास गरिन । कागजबाट बनेको वस्तु पानीमा भिज्दा बिग्रन्छ, छिटो च्यातिन्छ भन्ने गुनासो मेलामा आएका धेरै अवलोकनकर्ताको गुनासो थियो ।
‘मेलामा आउने ग्राहकलाई विश्वास दिलाउन पानीमा डुबाएरसमेत देखाएँ,’ उनी भन्छिन् ।
मेलामा सहभागी भएपछि उनको सञ्जाल बढ्दै गयो । मेलामा सानादेखि ठूला उद्योगीहरूसँग भेट्न पाइन । जसले उनलाई धेरै सहयोग र प्रोत्साहन भयो ।
मेलाबाट व्यापार व्यवसायको धेरै अनुभव लिन सजिलो र व्यापार विस्तार गर्न सकिने भएपछि अहिले कुनै पनि मेला छुट्याउँदिनन् ।
‘जानकारी पाएसम्मको सबैको मेला सहभागी हुन्छ,’ उनले भनिन्, ‘आफूसँग भएको सबै सामग्री बिक्री गर्न सहज भएको छ ।’
हरेक मेलामा उनलाई खोज्दै आउने धेरै ग्राहक भएको उनी सुनाउँछिन् ।
मेलामा पत्रिका र कागजबाट बनेको बास्केट, लुगा राख्ने भाँडो, पेन, पेन होल्डर, कानमा लगाउने गरगहना, घाँटीमा लाउने माला, हातमा लाउने माला, विभिन्न प्रकारका कोठामा सजावटका वस्तुहरू बनाएर प्रदर्शनमा राख्छिन् ।
जसबाट राम्रो आम्दानी भएको सुनाउँछिन् ।
कोभिड अघिसम्म उनले ४ जना कर्मचारी राखेकी थिइन् । व्यापार राम्रो थियो । अन्य व्यापारीको सहयोगमा निर्यात समेत हुन्थ्यो ।
कोरोना संक्रमण शुरु भएसँगै मेलाहरु हुन छाडे । जसले गर्दा आफै बजार पहिल्याउनु पर्ने अवस्था छ । कर्मचारी पनि छैनन् ।
उनले आफ्नो व्यवसायमात्रै होइन, एक सयभन्दा बढीलाई पत्रिका र कागजको व्यवस्थापनको तालिम पनि दिइसकेकी छिन् । स्कुल कलेजलगायत नगरपालिकाको सहयोगमा आफूले जानेको व्यवसायको बारेमा तालिम दिन्छिन् ।
‘मैले सयभन्दा बढीलाई तालिम दिइसकें । कतिपयले तालिमकै आधारमा व्यवसाय शुरु गरेका छन्,’ उनले सुनाइन, ‘आफूले दिएको तालिमबाट कसैले व्यवसाय शुरु गर्छ भने आनन्द आउँछ ।’
कागज र पत्रिकालाई हातले बनाउँदा निकै समय लाग्ने भए पनि मूल्य भने बजार सुहाउँदो नरहेको उनको भनाइ छ ।
‘कुनै पनि माला अथवा अन्य वस्तु बनाउन निकै समय लाग्छ,’ उनले भनिन्, ‘अहिले हामीले केही मात्र नाफा राखेर बेचिरहेका छौं ।’ अहिले नाफाभन्दा पनि बजारीकरण र आफ्नो सञ्जाल कसरी विस्तार गर्नेमा जोड दिएको उनले बताइन् ।
काम सानो ठूलो हुदैन । आफ्नो मेहनतले निरन्तर लागिपरे सफलता पाउन सकिने उनको भनाइ छ ।