कोभिडपछि काठमाडौंमा प्लटिङ र सामुहिक आवासका ७ परियोजना स्वीकृत



काठमाडौं । कोभिड महामारीपछि काठमाडौंमा जिल्लामा ठूलो क्षेत्रफलमा आवास विस्तारका लागि ७ वटा परियोजना स्वीकृत भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गा आवासअन्तर्गत ७ वटा परियोजना स्वीकृत दिएको हो ।

प्राधिकरणले हालसम्ममा काठमाडौं जिल्लामा प्लटिङ, हाउजिङ र अपार्टमेन्ट निर्माणका लागि ७९ वटा परियोजना स्वीकृत दिइसकेको छ । त्यस्तै, कोरोनापश्चात भने ७ वटा परियोजना स्वीकृत भएको प्राधिकरणका आयुक्त जानुका ढकालले जानकारी दिइन् ।

उनकाअनुसार कोभिडपश्चात हालसम्ममा कुनै पनि अपार्टमेन्ट निर्माणका लागि स्वीकृत लिन आएको छैन । तर, ठूलो क्षेत्रफलमा प्लटिङ गर्नका लागि भने स्वीकृत लिन आई स्वीकृती दिइएको छ ।

कोभिडपछि पहिलो पटक कोभिडकै समय २०७७ साल असार १० गते टोखा नगरपालिका वडा नम्बर २ मा पुन्य बहादुर थपलियाले ३३ वटा प्लटसंख्याको स्वीकृति लिएको थियो । उनले १२ रोपनी ११ आना १ पैसा ०.४ दाम क्षेत्रफलमा ३३ वटा प्लटको जग्गा विकासका लागि आवेदन दिएका थिए । सोहीअनुसार प्राधिरणले स्वीकृति दिएको प्राधिकरणको भनाइ छ ।

त्यसैगरी, प्राधिकरणले सोही मितिमा तारकेश्वर नगरपालिका वडा नम्बर २ मा दिलाल तामाङलाई २ रोपनी ३ आना ३ पैसा ३ दाम क्षेत्रफलमा ७ वटा प्लट जग्गा विकासका लागि स्वीकृती दिएका थिए ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा राधेश्याम खड्काले २०७७ साल असार १९ गते १९ रोपनी ५ आना १ पैसा २ दाममा ६४ वटा प्लट संख्या स्वीकृती दिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, असारबाट लामो समयपश्चात २०७७ मंसिर १९ गते बिनायक प्रोपर्टीले काठमाडौं जिल्ला नयाँपाटी वडा नम्बर २ मा ३ रोपनी १५ आना १ पैसा १.९ दाम जग्गा विकासका स्वीकृती दिएका दिएका थिए । सो मितिमा ८ वटा प्लट संख्या स्वीकृति दिएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

सिरान्चोक डेभलपर्स प्रालिलाई साङ्ला गाविस हाल तारकेश्वर नगरपालिकामा २०७७ चैत ११ गते ७२ वटा प्लट संख्यामा जग्गा विकासका लागि लिकुबाब श्रेष्ठले स्वीकृती लिएका थिए । श्रेष्ठले २८ रोपनी २ आना १ पैसा २.८ दाम क्षेत्रफल जग्गा विकासका लागि स्वीकृती लिएको हो ।

एम्पएर डेभलपर्स एन्ड इन्भेष्टमेन्ट प्रालिले गत भदौ १३ गते मात्रै तारकेश्वर नगरपालिका वडा नम्बर १ मा २२ आना ६ आना १ पैसा क्षेत्रफल जग्गा विकास गर्नका लागि प्राधिकरणले स्वीकृती दिएका छन् । उक्त जग्गा आवासमा ५३ वटा प्लट संख्या रहेको प्राधिकरणले जनाएको छ ।

साथै, सोही दिन एच एल कम्प्लेक्सलाई मनमैजु ३ मा ३५ वटा प्लटको स्वीकृती दिएको छ । सो क्षेत्रमा १८ रोपनी ९ आना २ पैसा ३.५ दाम क्षेत्रफलमा जग्गाको विकासका लागि स्वीकृती दिएको छ ।


क्लिकमान्डु