कोभिडपछि कम्पनी दर्तामा नयाँ रेकर्ड, ३८% ले बढ्यो
काठमाडौं । मुलुकमा कोरोना संक्रमणपछिको ‘न्यु नर्मल’ अवस्थामा कम्पनी दर्ता उत्साहजनक भएको छ । चालु आर्थिक वर्षमा कम्पनी दर्ता पछिल्लो पाँच वर्षकै सबैभन्दा धेरै भएको छ ।
कम्पनी दर्ता गर्ने निकाय कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकअनुसार चालु आवको असोजसम्म १० हजार ३ सय ३७ कम्पनी दर्ता भएका छन् ।
यो गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा ३८ प्रतिशतले धेरै हो । उक्त समयमा ७ हजार ४ सय ९३ कम्पनी दर्ता भएका थिए ।
कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रदिपराज अधिकारीले अहिले कम्पनी दर्ता उत्साहजनक भएको बताए ।
‘कोभिडपछि कम्पनी दर्ता गर्ने प्रकृयामा उत्साहजनक वृद्धि भएको छ,’ अधिकारीले भने, ‘कम्पनी दर्तामा उलेख्य वृद्धि हुनु भनेको सकारात्मक आर्थिक परिसूचक पनि हो ।’
विभिन्न कारणले कम्पनी दर्ता बढेको उनको भनाइ छ । पहिलो त कोभिडपछि सामान्य अवस्थामा फर्किएपछि व्यवसाय गर्नेहरु उत्साहित भएका छन् । कम्पनी दर्ताको संख्या हेर्दा कोभिडपछि व्यवसाय गर्ने उत्साहित छन् भन्ने बुझिने अधिकारीको भनाइ छ ।
उनकाअनुसार कम्पनी सम्बन्धी चेतना विस्तारै बढ्दै जाँदा दर्ता भएर चल्ने प्रचलन बढेको छ । पहिलाको दर्ता नभइकन पनि व्यवसाय गर्न सकिन्छ भन्ने मानसिकता परिवर्तन हुँदै गएको छ ।
‘कम्पनी भनेको बजार अर्थतन्त्रको सबैभन्दा औपचारिक संगठित क्षेत्र हो,’ अधिकारीले भने, ‘दर्ता भएर संगठित रुपमा चल्नुपर्छ भन्ने सोच बढेको छ ।’
पछिल्लो समय युवापुस्ता व्यवसायमा हात हालेसँगै कर्पोरेट कल्चरमा बढेको छ । यसले गर्दा कम्पनी दर्ता गर्ने संख्यामा पनि वृद्धि भएको छ ।
त्यस्तै, कोभिडको संक्रमण अवस्थामा पनि कार्यालय बन्द नहुँदा त्यसले दर्तामा सहयोग पुगेको अधिकारी बताउँछन् ।
‘कम्पनी दर्ता गर्न अनलाइन प्रणाली सुधार भएको छ,’ अधिकारीले भने, ‘कम्पनी प्रशासनमा कम्पनी रजिष्ट्रारको स्थिरता पनि भएको छ ।’
त्यस्तै, प्रत्यक्ष विदेशी लगानीको कम्पनी ‘फास्ट ट्रयाक’बाट दर्ता हुन आएमा छिटो काम सक्ने प्रणाली विकास गरिएको उनको भनाइ छ ।
यो वर्ष दर्ता भएको कम्पनी कम्पनी संख्या पछिल्लो पाँच वर्षकै उच्च हो ।
आर्थिक वर्ष २०७४/७५ मा ५ हजार ७ सय २७, २०७५/७६ मा ७ हजार ९ सय ८४, २०७६/७७ मा ७ हजार ४१२ र २०७७/७८ मा ७ हजार ४ सय ९३ दर्ता भएका थिए ।
वार्षिक हजारौं कम्पनी दर्ता भए पनि संचालनमा आउने भने कम छन् । कति संख्यामा कम्पनी दर्ता भएका छन् भन्ने एकिन भन्न नसकिए पनि ५० प्रतिशत संचालनमा हुनुपर्ने अनुमान रहेको अधिकारीको भनाइ छ ।
कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म मुलुकमा २ लाख ७६ हजार ४ सय १२ कम्पनी दर्ता भएका छन् । जसमध्ये प्राइभेट कम्पनीमा कुल शेयर सदस्य संख्या ७ लाख १२ हजार २ सय १७ जना रहेका छन् ।
त्यस्तै, मुनाफा वितरण नगर्ने कम्पनीको संख्या २५ हजार १ सय २२ छन् ।