११ जीवन बीमा कम्पनीको ‘एक्चुरी भ्यालुएसन’ स्वीकृत, अरुको के छ ?



काठमाडौँ । बीमा समितिले ११ जीवन बीमा कम्पनीको एक्चुरी भ्यालुएसन स्वीकृत गरेको छ । समितिले १९ जीवन बीमा कम्पनीमध्ये ११ कम्पनीको एक्चुरी भ्यालुएसन स्वीकृत गरेको हो ।

जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन स्वीकृत गरेको बीमा समितिले जनाएको छ ।

जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गर्न तथा बीमितलाई दिने बोनस घोषणा गर्नका लागि एक्चुरीको भ्यालुएसन गर्नुपर्छ । नेपालमा एक्चुरी नभएको कारण बीमा कम्पनी र बीमा समितिलाई एक्चुरी गराउनको लागि विदेशी कम्पनीको भरपर्नुपर्ने बाध्यता छ । जसकारण कम्पनीहरुले समयमा नै एक्चुरी भ्यालुएसन गराउन सकिरहेका छैनन् ।

बीमा समितिका अनुसार रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, एशियन लाइफ, मेट लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्सको एक्चुरी भ्यालुएसन स्वीकृत भएको हो ।

समितिबाट एक्चुरी भ्यालुएसन स्वीकृत भएका कम्पनीहरुले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । यस्तै, ती कम्पनीहरुले लगानीकर्तालाई दिने लाभांश समेत घोषणा गरेका छन् ।

तीन कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स पनि एक्चुरी भ्यालुएसन स्वीकृतिका लागि निवेदन दिएका छन् । ती कम्पनीको विवरण स्वीकृत हुने प्रक्रियामा रहेको समितिले बताएको छ ।

अन्य ५ कम्पनीले भने एक्चुरी भ्यालुएसनको विवरण स्वीकृतका लागि निवेदन नै दिन बाँकी छ ।

रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, गुँरास लाइफ, सानिमा लाइफ र राष्ट्रिय बीमा संस्थानले भने एक्चुरी भ्यालुएसन स्वीकृतको लागि समितिमा आवेदन दिन बाँकी रहेको हो ।


क्लिकमान्डु