१८ अंकले नेप्से परिसूचक घट्दा, दुई कम्पनीको मूल्य सर्किट लागेर बढ्यो



काठमाडौं । चार दिनको बिदा पछि खुलेको सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै १८ अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.९३ अंकले घटेर दुई हजार ३५८.८१ मा ओृर्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३४ अंकले ओरालो लागेर ४५१.१९ मा ओर्लिएको छ ।

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम समेत घटेको छ । २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूह मध्ये सोमबार २ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको भने ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । उत्पादन १९४.८१ र लघुवित्त ६.३५ अंकले बढेको छ ।

यस्तै, बैंकिङ ७.८६, व्यापार २.२४, होटल तथा पर्यटन ४५.०८, विकास बैंक ९२.४२,जलविद्युत् ५२.७७, वित्त १७.८५, निर्जीवन बीमा १७०.१९, अन्य ३८.७३, जीवन बीमा १०६.०२, सामूहिक लगानी कोष ०.३७ अंकले ओरालो लागेको छ ।

कारोबारका आधारमा गोर्खाज फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी १८ करोड ६६ लाख ४१ हजार १३८, कृषि विकास बैंक ९ करोड ४४ लाख ९९ हजार ५६९, नबिल बैंक ८ करोड ३६ लाख ७८ हजार १२७ र मञ्जुश्री फाइनान्स ७ करोड ५ लाख ६७ हजार २२९ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको सेयर मूल्यमा पाजेटिभ सर्किट लागेको छ । कृषि विकास बैंक ४.९९, माहुली सामुदायिक लघुवित्त ४.५३ र शिव श्री हाइड्रोपावरको सेयर मूल्यमा ४.२८ प्रतिशतको वृद्धि भयो ।

त्यस्तै, माउण्टेन इनर्जी ६.१७, नारायणी डेभलपमेन्ट बैंक ५.८६, मैलुङ खोला जलविद्युत् कम्पनी ५.८३, तेह्रथुम पावर कम्पनी ५.३१ र समृद्धि फाइनान्सको सेयर मूल्यमा ५.२० प्रतिशतले ओरालो लाग्यो ।


क्लिकमान्डु