बैंकिङ प्रणालीबाट एक सातामा हरायो ५ अर्ब



काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ हराएको छ । तरलता अभाव चुलिरहेको बेला बैंकिङ प्रणालीबाट धमाधम पैसा बाहिरन थालेको छ ।

बैंकर्स संघका अनुसार एक साताको अवधिमा बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ बाहिरिएको छ । संघका अनुसार मंसिर १७ गतेसम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा २४ गतेसम्म आइपुग्दा ५ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । बैंकका निक्षेप संकलन घटिरहेको समयमा कर्जाको माग भने बढेको छ । तर पनि पहिलाकाे तुलनामा केही घटेकाे देखिएकाे छ । बैंकसँग पैसा नभएका कारण कर्जा लगानी कम गर्दै आएका छन् ।

संघका अनुसार एक साताको अवधिमा कर्जाको माग ८ अर्ब रुपैयाँले बढेको छ । मंसिर १७ गतेसम्म ४० खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा एक साताको अवधिमा कर्जाको माग ८ अर्ब रुपैयाँले बढेर ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

तरलता अभावका कारण सिडी रेसियो ९१.४९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा आगामी असार मसान्तसम्म सिडी रेसियो ९० प्रतिशत पुर्याउनु पर्नेमा अहिले नै ९० प्रतिशत भन्दा बढी रहेको छ ।


क्लिकमान्डु