प्रचण्डको अभिव्यक्तिले सेयर बजारमा पहिरो, लगानीकर्ता त्रसित



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार विरोधी अभिव्यक्ति दिएपछि बजारमा पहिरो गएको छ ।
शनिबार उनले दिएको अभिव्यक्तिको असर सोमबारको कारोबारमा पनि परेको छ ।

अध्यक्ष प्रचण्डले शनिबार सबै प्रदेशको प्रदेश सम्मेलनलाई एकैसाथ उद्घाटन गर्दै पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामराज्यवादको विकसित रुप भएको दाबी गरेका थिए ।

उनको त्यो भनाईले बजारलाई प्रभाव पारेको भन्दै चर्को आलोचना भएको छ । उनको भनाइको कारण सोमबार बजार ७९.२३ अंकले घटेर २२८२.०१ बिन्दुमा रोकिएको छ । पछिल्लो समय बियरिस ट्रेन्डमा रहेको बजारमा पहिरो जान प्रचण्डका अभिव्यक्तिले साथ दिएको छ । उनको अभिव्यक्तिले गर्दा अहिले लगानीकर्ता निकै त्रसित बनेका छन् ।

सोमबार २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.४७ अंकले घटेर ४३७.५९ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ ३४.११, विकास बैंक २११.७६, जलविद्युत १०५.८२, फाइनान्स १३३.९१, निर्जीवन बीमा ५४५.९८, माइक्रोफाइनान्स १८७.३३, जीवन बीमा समूहको उपसूचक ४२५.३३ अंकले घटेको छ । इन्ट्रा डे कारोबारमा बजार २२५९.६३ बिन्दुसम्म पुगेको थियो । यो दिन बजारमा निकै उतार चढाव आयो ।


क्लिकमान्डु