कोरोनाका कारण घटेको एशियन पेन्ट्सको व्यापार ३७.५३%ले बढ्यो, उत्पादन क्षमता दोब्बर भयाे



काठमाडौं । कोरोना महामारीका कारण करिब १४ प्रतिशतले घटेको एशियन पेन्ट्सको व्यापार ३७.५३ प्रतिशतले बढेको छ । सन् २०२० को तुलनामा सन् २०२१ मा कम्पनीको व्यापार १ अर्ब ९९ करोड ३० लाख रुपैयाँले बढेको हो ।

कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प हुँदाको असर कम्पनीको आम्दानीमा परेको थियो । कम्पनीले सन् २०२१ मा कुल ७ अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी सन् २०२० मा कम्पनीले ५ अर्ब ३१ करोड रुपैयाँको व्यापार गरेको थियो । सन् २०२० मा कोरोना महामारीका कारण व्यापारमा कमी आएको हो ।

कम्पनीले सन् २०१९ मा ६ अर्ब १६ करोड ७० लाख रुपैयाँ र सन् २०१८ मा ५ अर्ब ३४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

साथै, कम्पनीले उत्पादन क्षमता पनि दोब्बरले बढाएको छ । सन् १९८३ मा एशियन पेन्टस् (नेपाल) प्रालिका रुपमा स्थापना भएको कम्पनीले कोरोना महामारीपछि उत्पादन क्षमता दोब्बरले वृद्धि गरेको हो । कम्पनीले वार्षिक ५० हजार मेट्रिक टनबाट उत्पादन क्षमता बढाएर १ लाख मेट्रिक टन पुर्याएको छ ।

कम्पनीमा द एशियन पेन्ट्स लिमिटेड इन्डियाको ५३ प्रतिशत सेयर स्वामित्व छ । साथै रवी एसोसिएट्स इन्डियाको ९ प्रतिशत र बाँकी ३८ प्रतिशत सेयर स्वामित्व विभिन्न २७ सेयर होल्डरसँग छ । कम्पनीले हेटौँडामा उद्योग स्थापना गरेको छ भने कम्पनीले हाल विभिन्न ४४ प्रकारका ब्राण्डमा पेन्ट्स उत्पादन गरिरहेको छ ।

कम्पनीले हालै ९९ करोड ९० लाख रुपैयाँ बराबरको ऋणका लागि रेटिङ गराएको छ ।

एशियन पेन्ट्सले हाल विभिन्न १५ देशमा उद्योग स्थापना गरेको छ भने ६५ वटा देशमा उत्पादन बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु