पछि परेका समुदायलाई सहयोग गर्न मुक्तिनाथ फाउण्डेशनको शुरु



काठमाडौं । सामाजिक तथा आर्थिकरुपले पछि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले मुक्तिनाथ फाउण्डेशनको स्थापना भएको छ । नाफा वितरण नगर्ने संस्थाकारुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।

फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरे । उनले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा आफ्नो धारणा सहित स्वागत मन्तव्य राखेका थिए

यो संस्था गैरराजनीतिक, निश्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाईको संस्थाको रुपमा विकास गरिनेमा उनले जोड दिए । सोही कार्यक्रममा संस्थाका सल्लाहकार भरतप्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावि योजनाहरु बारेमा सहभागीहरुलाई जानकारी गराए ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्याम सुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मी र गायिका सुनिता दुलालले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरुले संस्थालाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । सभाको क्रममा संस्थाको सञ्चालक समितिका सदस्य सीताराम काफ्लेले शुभारम्भ कार्यक्रमका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन सहित सभाको समापन गरेका थिए ।

फाउण्डेशनको उद्देश्यमा सहभागी भई साथ दिन चाहने व्यक्ति तथा संस्थाहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ । यस फाउण्डेशनले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य (प्राथमिकता दिने) र मानार्थ सदस्यहरु थप गर्दै आफ्नो सेवालाई प्रभावकारीरुपमा सामाजिक रुपान्तरणको संवाहकको रुपमा देश व्यापी क्रमशः विस्तार गर्ने र रणनीति लिएको छ ।

यो संस्थाले आफूलाई एक पवित्र सामाजिक संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।


क्लिकमान्डु