पेट्रोल र डिजल प्रयोग हुने सवारीलाई विद्युतीय बनाउँदा कति खर्च लाग्छ ?



काठमाडौं । संसारभर यतिबेला विद्युतीय सवारीको चर्चा चलिरहेको छ । विभिन्न कम्पनीहरुले पेट्रोलियम इन्धन प्रयोग हुने सवारी साधनको उत्पादनभन्दा बढी विद्युतीय सवारी साधनको उत्पादनमा जोड दिन थालेका छन् ।

नेपालमा पनि दुई पांग्रे तथा चार पांग्रे सवारी साधनमा विद्युतीय सवारीको आयात र प्रयोग दुबै बढ्न थालेको छ । त्यति मात्रै होइन, पेट्रोलियम इन्धन प्रयोग हुने सवारी साधनलाई विद्युतीय बनाउने प्रक्रिया पनि शुरु भइसकेको छ ।

कुनै पनि इन्धन सवारीलाई विद्युतीयमा परिवर्तन गर्दा सबै मेकानिकल पार्ट परिवर्तन गरिन्छ । तर, गाडीको डिजाइन भने परिवर्तन हुँदैन ।
इञ्जिन खराबीका कारण अलपत्र परेका त्यस्ता सवारी साधनलाई फेरि प्रयोगमा ल्याउन केही कम्पनीहरुले पुराना पेट्रोल तथा डिजल गाडीलाई विद्युत्बाट चल्ने बनाइरहेका छन् । जसमध्येको एक हो नेपाल इभी दिगो ।

नेपाल इभी दिगोले हाल एउटा पुरानो इन्धनबाट चल्ने वागन आरलाई विद्युतीय सवारीमा रुपान्तरण गर्दै आएको छ । कम्पनीमा सुजन थापाले दुई वर्षदेखि इलेक्ट्रिकल इन्जिनियरको रुपमा काम गर्दै आएका छन् । यो गाडी पनि थापाले नै तयार पारेका हुन् ।

थापाका अनुसार यस कम्पनीले पहिले नयाँ विद्युतीय सवारी धेरै प्रथामिकता दिन्थ्यो भने अहिले कन्भर्जन सवारीलाई पनि प्रथामिकता दिन थालेको छ ।

‘इन्धन सवारीलाई इलेक्ट्रिक बनाउँदा इलेक्ट्रिक मोटर र ब्याट्रीको प्रयोग गरिन्छ,’ थापाले भने, ‘यस्ता सवारीलाई ‘डोनर भेहिकल’ पनि भनिन्छ ।’
इन्धन सवारीमा भएको इन्जिन र फ्युल ट्याङिकलाई पूरै निकालेर त्यसको ठाउँमा ब्याट्री र मोटर राखिन्छ । रुपान्तरण गरिएको सवारीमा इञ्जिन बाहेक अरु मेकानिकल पार्टस्हरु सबै हुने सुजन थापाले बताए ।

थापाका अनुसार इञ्जिन भएको ठाउँमा मोटेर राखिन्छ,’ थापाले भने, ‘सिङ्गल फेज र थ्री फेज मोटरमा हामीले प्रयोग गर्ने भनेको थ्री फेज मोटर हो । जुन दुबैतर्फ घुम्ने गर्दछ ।’

थ्री फेज मोटर मात्र हालेर पनि हुँदैन, त्यसका लागि एसिङ्क्रोनस भएको मोटर प्रयोग गर्नुपर्ने थापाको भनाइ छ ।

‘हरेक विद्युतीय सवारीमा यही मोटर प्रयोग गरिन्छ,’ थापाले भने, ‘उदाहरणका लागि एउटा मोटर ३ हजार आरपीएमको छ । जुन ३ हजार आरपीएममा घुम्न सक्दैन त्यसलाई एसिङ्क्रोनस मोटर भनिन्छ ।’

‘यो मोटरको प्रकृति भनेको रोबष्ट नेचर अर्थात् बलियो प्रकृतिको हुन्छ,’ उनले भने, ‘यो सिङ्गल फेजको मोटरभन्दा ३÷४ गुणा बढी टिक्छ ।’
यसको वारेन्टी भने कम्पनी अनुसार फरक–फरक रहेको थापाले बताए ।

‘प्रायः जसो कम्पनीले १ वर्षको मात्र वारेन्टी दिने गरेको छ, तर यो ५/६ वर्ष केही हुँदैन,’ उनले भने ।

विद्युतीय सवारीमा हालेको मोटरमा भएको वाइन्डिङले ५०० देखि १ हजार एम्पियर थेग्ने गरी बनाइएको हुने थापाले बताए । थापाका अनुसार सामान्य अवस्थामा गाडी गुड्दा जम्मा २५० देखि ४०० एम्पियर मात्र खान्छ ।

पेट्रोल कारलाई विद्युतीय कार बनाउँदा मोटरमा भएको इन्सुलेसनले वाटरप्रुफको काम गर्ने, रोब्रष्ट नेचर (बलियो प्रकृतिको) र तारहरु नजल्ने खालको वाइन्डिङ्ले गर्दा मोटरमा इरर नभएको थापाको दाबी छ ।

‘मैले यसै इभीको क्षेत्रमा काम गरेको २ वर्षसम्म मैले मोटरमा समस्या आएको थाहा छैन,’ थापाले भने ।

अर्को आवश्यक कुरा भनेको ब्याट्री हो । बजारमा भएका इभी कारमा ब्याट्रीको रेन्ज निश्चित हुन्छ । तर कन्भर्जन (रुपान्तरण) गरिने कारमा भने ग्राहकहरुको आवश्यकता अनुसारको ब्याट्री राख्न सकिने थापाले बताए ।

उदाहरणका लागि कुनै ग्राहकले ५० किलोमिटर चल्ने चाहियो भने भनि ब्याट्री त्यही अनुसार कम भोल्टेजको राखिन्छ । तर, ४०० किलोमिटरसम्म चल्ने चाहियो भने भनि त्यही अनसार धेरै भोल्टेज भएको ब्याट्री राखिन्छ ।

थापाका अनुसार यसमा प्रयोग हुने ब्याट्री लिथियम आयोन हो । जसको नेपालमा उत्पादन छैन । जसको कारण इभी कारमा आवश्यक पर्ने लिथियम ब्याट्रीलाई महङ्गो पर्ने थापाको भनाइ छ ।

‘लिथियम ब्याट्रीका लागि हाल १ किलोवाटको १७५ अमेरिकन डलर अर्थात नेपाली २१ हजार रुपैयाँ पर्छ,’ थापाले भने, ‘१५ किलोवाटदेखि ९० कलोवाट सम्मको ब्याट्री इभी कारमा प्रयोग गरिन्छ ।’

अर्को भनेको कन्ट्रोलर आवश्यक पर्दछ । एसी मोटर थ्री फेजको र ब्याट्री डीसी सोर्सको हुन्छ । थापाका अनुसार डीसीले एसीलाई सप्लाइ दिनका लागि राखिने इन्भटरलाई कन्ट्रोलर भनिन्छ ।

‘यसले एसीलाई पाउर सप्लाइ मात्र नभइ गाडीमा भएको सेन्सरदेखि सबै कुराको कन्ट्रोल गर्ने काम गर्छ,’ थापाले भने, ‘गाडीको सिस्टम चलाउँनका लागि अर्को १२ भोल्टको ब्याट्री पनि प्रयोग गरिन्छ ।’

यो ब्याट्रीले मुख्य गाडी सर्ट हुनबाट बचाउने थापाको भनाइ छ । कन्ट्रोलर राख्दा ब्याट्री र मोटरसंग म्याच गराएर राख्नु पर्नेपनि थापाले बताए ।
थापाका अनुसार पुराना इन्धन गाडीलाई इभी गाडी बनाउँदा लगभग १२ देखि १३ लाख लाग्छ । त्यो पनि ब्याट्री, मोटर र कन्ट्रोलरको सेलेक्सन अनुसार कति खर्चमा तयार हुन्छ भन्ने कुराको निश्चित हुन्छ ।

‘हामीले बनाएको वागन आर १३ लाखमा तयार भएको हो,’ थापाले भने, ‘हाम्रो वागन आरमा ७२–९६ भोल्टेजको ब्याट्री प्रयोग गरेका छौं ।’
यो रुपान्तरण (कन्र्भजन) गरेको गाडीले फुल चार्जमा १८० किलोमिटर सम्मको माइलेज दिएको थापाको दाबी छ । यो कारको ब्याट्री फुल चार्ज गर्न ५–६ घण्टा समय लाग्ने थापाले बताए ।

‘हामीले फाष्ट चार्जिङको अप्सन राखेका छैनौं,’ थापाले भने, ‘फाष्ट चार्जिङको अप्सन पनि राख्न सकिन्छ । जसको चार्जिङ समय कम हुन्छ ।’
थापाका अनुसार फाष्ट चार्जिङको सिष्टम सुविधा राख्दा महङ्गो पर्छ । यसका लागि लगभग २–३ लाखसम्म लागत बढ्ने उनको भनाइ छ । तर, धेरै कारहरु यसरी बनाउने हो भने लागत कम लाग्ने पनि थापाको भनाइ छ ।

त्यस्तै, अर्को काठमाडौं विश्वविद्यालयले पनि २५ वर्ष पुरानो पेट्रोल कारलाई विद्युतीय कारमा रूपान्तरण गरेको छ । पेट्रोलबाट चल्ने मारूती ८०० कारलाई विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङमा अध्ययन गर्ने विद्यार्थीले बिजुलीबाट चल्ने बनाएका हुन ।

सो कारमा ६ वटा ब्याट्री जोडिएको काठमाडौं विश्वविद्यालयको ल्याव प्रमुख डा. विराजसिंह थापाले बताए । सो ब्याट्री एकपटक फूलचार्ज गर्दा गाडी २० किलोमिटरसम्म गुड्ने थापाको भनाइ छ ।

‘पेट्रोलबाट चल्ने सो कारलाई बिजुलीमा रूपान्तरण गर्न करिब ५ लाख रूपैयाँ खर्च भएको छ,’ डा. थापाले भने ।

पुराना इन्धन गाडी इभीमा रुपान्तरण गर्दा खर्च ५ लाखदेखि १३ लाखसम्म लाग्छ । तर, पुराना गाडी बेच्दा आउने पैसा इभी बनाउँदा आउँदैन । जसका कारण प्रायः जसो ग्राहकले पुराना गाडी बेच्ने र इभी बनाउँदा लाग्ने खर्चमा गाडी बेच्दा आएको पैसा थपेर बजारमा आएका नयाँ इलेक्ट्रिक कार किन्न रुचाउने थापाको भनाइ छ ।


क्लिकमान्डु