नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा जागिर खुल्यो, यस्तो छ मापदण्ड



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रबन्ध निर्देशक (एमडी) पदका लागि जागिर खुलाएको छ । बुधबार कम्पनीले विज्ञापन खुलाएको हो ।

नेपाल टेलिकमका अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रिोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेशन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमध्ये कुनै एक विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहरको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

साथै, दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ५६ वर्ष ननाघेको हुनुपर्नेछ ।

विज्ञापनमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षसहित १२ वर्षको कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ । व्यवस्थापकीय पद भन्नाले तहगत व्यवस्था भएका निकायका हकमा १०औं वा सोभन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायको हकमा राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिको श्रेणी बुझाउनेछ ।

दरखास्त पेश गर्ने अन्तिम मिति पुस ७ गते बुधबारको दिन दिनको ४ बजेसम्मका लागि तोकिएको छ ।


क्लिकमान्डु