लगानीकर्ता झनै निरास, बियरिस ट्रेन्ड आउने त्रास बढ्यो



काठमाडौं । निरन्तरको गिरावटपछि सोमबार सेयर बजारले केही गति लिएको थियो । बजारमा आएको गिरावटले बियरिस ट्रेन्ड समाउने हो की भन्ने चिन्तामा रहेका लगानीकर्तालाई सोमबार केही राहत मिलेको थियो । त्यो राहत २४ घन्टा पनि बित्न पाएन ।

बजारले आफ्नो पुरानै गतिलाई छोडन सकेको देखिएन । बजारमा आएको उच्च गिरावटले अन्ततः बियरिस टे«न्ड समाउने हो की भन्ने लगानीकर्ताको चिन्तालाई अझ बढी प्रश्रय दिएको जानकार लगानीकर्ताहरुको भनाई छ ।

एक लगानीकर्ताका अनुसार बियरिस ट्रेन्ड समातेको बजारमा सोमबार केही राहत दिएको भएपनि मंगलबारको इन्डेक्स र करोबार रकमले सबैलाई निरास बनाएको छ । यसले बजार अब बियरिस टे«न्डमा जाने हो की भन्ने चिन्ता झनै बढडेको उनको भनाई छ ।

मंगलबार बजार मापन गर्ने सूचक ३७.१८ अंकले घटेर २५०८.९१ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा रहेको छ ।

२३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम पनि निकै कम रहेको छ । बजारसँगै कारोबार रकम घट्दा लगानीकर्ता निकै निरास बनेका छन् ।

कारोबारमा म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ १३.५५, विकास बैंक १४०.९५, जलविद्युत ७४.६९, फाइनान्स ९०.०८, निर्जीबन बीमा १६०.९८, जीवन बीमा ७३.९४ उत्पादन तथा प्रशोधन ९२.०३, माइक्रोफाइनान्स समूहको उपसूचक ७२.५६ अंकले घटेको छ ।


क्लिकमान्डु