२ दिनमा भन्सारले १० किलो सुन नियन्त्रणमा लियो



काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन भित्र्याउन कडाइ गरेपछि अवैध रुपमा भित्रिने सुन घटेको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार पछिल्लो २ दिन (शुक्रबार र शनिवार) मा विदेशबाट फर्किएका २२४ जना यात्रुले ल्याएको १० किलो सुन नियन्त्रणमा लिएको हो ।

मंसिर १३ गतेदेखि विमानस्थल भन्सारमा कडाइ गर्न थालेयता ६ दिनमा १ हजार ४२० जना यात्रुमार्फत ६७ किलो ५ ग्राम सुन नियन्त्रणमा लिइएको छ ।


भट्टराईका अनुसार विभागको कडाइपछि अवैध किसिमले सुन ल्याउनेहरु घट्न थालेका छन् । ‘अन्तर्राष्ट्रिय र स्थानीय बजारमा ४९ देखि ५० हजारसम्म फरक पर्ने गरेको बुझिएको छ । तर, ४८ हजार रुपैयाँ भन्सारमहसुल तिर्न परेपछि दिने रकम घाटा लाग्ने भएपछि अवैध रुपमा सुन पठाउन छोडे,’ उनले भने ।

भन्सार विभागले कडाइ गर्नुअघि सुन अवैध रुपमा ल्याउने गरेको अनुमान गरिएको भएपनि यो परिमाणमा ल्याउनछन् भनेर थाहा नभएको भट्टराईले बताए । ‘कडाइ गनु अघि पनि अवैध सुन आउछ भन्ने अनुमान त गरिएको थियो । तर, यो स्केलमा आउछ भन्ने लागेको थिएन्’, उनले भने ।

भट्टराईका अनुसार कानूनमा भएको व्यवस्थालाई विभागले पालना गराएको हो । ‘हामीले एकदिन न एकदिन त कानुनको पालना पर्ने थियो । त्यसै अनुरुप १३ गते नै निर्णय गर्नु र त्यही दिन अवैध सुन बढी नियन्त्रणमा लिनु एकै दिन पर्‍यो,’ उनले भने । भट्टराईका अनुसार गत १३ गते विमानस्थल भन्सार कार्यालयले ४१५ जनाबाट २० किलो ७५० ग्राम सुन नियन्त्रण गरेको थियो ।

त्यस्तै १४ गते २४४ जना यात्रुबाट १२ केजी २०० ग्राम, १५ गते ३२६ जना यात्रुबाट १५ केजी १६५ ग्राम र हिजो (बिहीबार) १६ गते २११ जना यात्रुबाट ९ केजी ७७४ ग्राम सुन नियन्त्रण गरिएको थियो ।

शुक्रबार कार्यालयले १५० जना यात्रुबाट ६ केजी २५० ग्राम सुन नियन्त्रणामा लिएको थियो । त्यसैगरी शनिबार भने ७४ जना यात्रुबाट ३ केजी मात्र अवैध सुन नियन्त्रण गरिएको थियो ।

शनिबार रातिसम्म नियन्त्रणमा लिएको सुनवापत ४ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

कानूनी व्यवस्था अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने ५० ग्रामसम्मका सुनका गरगहनाहरुमा भन्सार लाग्दैन । त्यस्तै ५०० ग्राम चाँदीका गरगहनाहरुमा पनि भन्सार नलाग्ने व्यवस्था छ । तर, व्यक्तिगत प्रयोगनका लागि भन्दै कसैले विदेशबाट आफ्नो साथमा ल्याएको १०० ग्रामसम्म सुनमा भन्सार लाग्ने छ ।

मालबस्तु निकासी तथा पैठारी सम्बन्धी व्यवस्था अनुसार १०० ग्रामसम्म सुन ल्याउँने यात्रुलाई पहिलो ५० ग्रामसम्म प्रति १० ग्राममा ९ हजार ५०० रुपैयाँ भन्सार शुल्क लाग्ने छ । त्यसैगरी ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ भन्सार महसुल लाग्ने छ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनको गहनाको हकमा ५० ग्रामभन्दा बढी थप १०० ग्रामसम्म ल्याएमा त्यस्तै गहनामा ५० ग्रामसम्म प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र थप १०० ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर जाँचपास गर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु