बागमति प्रदेशमा ३७.७ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा, घरजग्गा रजिष्ट्रेशन ३९%ले बढ्यो



काठमाडौं । बागमति प्रदेशमा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन २०७७ असार मसान्तको तुलनामा २०७८ असारमा १९.३ प्रतिशतले र कर्जा प्रवाह २८.५ प्रतिशतले वृद्धि भएको छ ।

प्रवाहित कर्जामध्ये ३७.७ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा प्रवाहित भएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा बागमति प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा ४.२ प्रतिशत कर्जा प्रवाह भएको छ ।

कर्जा–निक्षेप अनुपात औसतमा ७३.३ प्रतिशत रहेको छ । समीक्षा वर्षमा यस प्रदेशमा यातायात साधन सङ्ख्या १३.५ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशका १३ वटा जिल्लाहरूको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा सूचनाको आधारमा तयार गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

अध्ययन प्रतिवेदन अनुसार उक्त आवमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ०.२ प्रतिशतले घटेको छ भने बालीको उत्पादन ०.७ प्रतिशतले घटेको छ । यो प्रदेशमा प्रमुख खाद्यान्न बालीमध्ये मकैको उत्पादन २ प्रतिशत र धान उत्पादन ०.१ प्रतिशतले घटेको छ भने कोदो उत्पादन १.४ प्रतिशतले बढेको छ ।

एक वर्षको अवधिमा तरकारी उत्पादन १.९ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन ६.२ प्रतिशत, मासु उत्पादन ७.६ प्रतिशत र अण्डाको उत्पादन १८.१ प्रतिशतले बढेको छ ।

यस्तै यस प्रदेशका उद्योगको क्षमता उपयोग औसतमा ४६.४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ३७.९ प्रतिशत रहेको थियो ।

औद्योगिक उत्पादनमध्ये पशुदाना उत्पादन १६.४ प्रतिशत, विस्कुट उत्पादन ३४.९ प्रतिशत, चाउचाउ उत्पादन २३.२ प्रतिशत, हल्का पेय पदार्थ १८.७ प्रतिशत, चुरोट उत्पादन ८.५ प्रतिशत, पश्मिना उत्पादन ४.० प्रतिशत, गार्मेण्ट उत्पादन १९.० प्रतिशत, रंग उत्पादन ५४.९ प्रतिशत, साबुन उत्पादन ४५.१ प्रतिशत र कंक्रिट उत्पादन ५१.६ प्रतिशत र कपडाको जुत्ता उत्पादन ३२.५ प्रतिशतले बढेको छ भने प्रशोधित दूध उत्पादन ११.० प्रतिशत र वियर उत्पादन ११.४ प्रतिशतले घटेको छ ।

कोरोना संक्रमणबाट उत्पन्न भएको असहज परिस्थितिका कारण पर्यटन क्षेत्रमा गहिरो असर पुगेको छ । अन्तर्राष्ट्रिय पर्यटक आगमन ठप्प प्रायः रहेको तथा आन्तरिक आवागमनमा समेत असर परेको कारण पर्यटन क्षेत्र प्रभावित भएको छ । यस प्रदेशमा रहेका ठूला होटलहरूको अकुपेन्सी न्यून रहेको छ ।

घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ३९.० प्रतिशतले तथा रजिष्ट्रेशनबाट प्राप्त हुने राजश्व ५८.८ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु