शेर्पा आउटडोरको व्यापार २४४% ले बढ्ने, स्काउटसँग २० वर्षको सम्झौता



काठमाडौं । कोरोना महामारीका कारण सुस्ताएको स्वदेशी गार्मेन्ट उद्योगको व्यापार बढ्न थालेको छ ।

विशेष गरी कोरोना महामारीका कारण चीन, भारत तथा थाइल्याण्डलगायतका मुलुकबाट हुने आयात ठप्प हुँदाको सकारात्मक प्रभाव स्वदेशी गार्मेन्ट उद्योगमा देखिएको हो ।

स्वदेशी स्पोटर्स वेयर उत्पादक कम्पनी शेर्पा आउटडोर स्पोटर्स गुड्स इन्डिस्ट्री प्रालिले कोरोना महामारीको अवधि सन् २०२० मा जम्ममा ९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा सन् २०२१ मा कम्पनीको व्यापार २४४ प्रतिशतले बढेर ३२ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गर्नेे आकलन गरिएको छ ।

यसअघि कम्पनीले सन् २०१८ मा ३२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । तर त्यसपछि कोरोना महामारी शुरु भएपछि कम्पनीको व्यापार ओरालो लागेको थियो ।

लकडाउनका कारण अधिकांश व्यवसाय बन्द हुँदा पनि सन् २०२० मा कम्पनीको व्यवसाय ९ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो । साथै, सन् २०१७ मा कम्पनीले ११ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

स्काउटसँग २० वर्षको सम्झौता
कम्पनीले नेपाल स्काउटसँग सन् २०२१ जुलाईदेखि सन् २०४१ को मध्य जुलाईसम्म २० वर्षका लागि सम्झौता गरेको छ । जस अन्तर्गत कम्पनीले स्काउटका सदस्यका लागि आवश्यक पोषाक तथा सामग्री समेत उत्पादन गर्नेछ । सन् २०१८ को तथ्यांक अनुसार नेपालभर स्काउटमा ६२ हजार ७१६ सदस्य छन् ।

साथै कम्पनीले अल नेपाल फूटबल एसोसिएसन (एन्फा)सँग पनि वार्षिक २ करोढ ७० लाख ३८ हजार ७०० रुपैयाँमा सम्झौता समेत गरेको छ । यद्यपि सम्झौता अनुसार कम्पनीले एन्फालाई वार्षिक १ करोड ५० लाख रुपैयाँ बराबरको प्रायोजन समेत गर्नेछ ।

कम्पनीले हाल स्पोटर्स वेयरमा जर्सी, मोजा, ज्याकेट, ट्राउजर, ट्रेकिङ ज्याकेट, ट्रेकिङ झोला, टेन्ट, ट्रेकिङ जुत्ता र ट्रेकिङ मोजा उत्पादन गर्दै आएको छ ।

२ अर्ब ३६ करोड लगानी
कम्पनीले २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ लगानीमा झापामा उद्योग स्थापना गरेको छ भने हाल काठमाडौंको कपनमा समेत उद्योग स्थापना गरेको छ । जसमा ६७ प्रतिशत कर्जा लगानी छ भने ३३ प्रतिशत इक्विटी छ ।

कम्पनीमा काजी शेर्पाको एकल स्वामित्व छ । शेर्पा कम्पनीको प्रबन्ध निर्देशक समेत हुन् ।

कम्पनीले आगामी दिनमा नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत ब्राण्डलाई स्थापित गर्ने योजना बनाएको छ ।

पछिल्ला दशकमा नेपालमा सस्ता चिनियाँ कपडाको बजार राम्रो भए पनि पछिल्लो समयमा सोनाम गियर, लोगो इन्डस्ट्री, केईएलएमई र जोफी ब्राण्डको लोकप्रियता बढ्दै गएको छ ।

कम्पनीले हाल राजधानीमा १५ वटा आउटलेट र राजधानी बाहिर ५ वटा आउटलेट सञ्चालन गर्दै आएको छ । साथै, कम्पनीले आगामी दिनमा थप आउटलेट सञ्चालनमा ल्याउने समेत योजना बनाएको छ ।

सन् १९९४ जनवरी १६ मा साना तथा घरेलु उद्योगका रुपमा स्थापित कम्पनी सन् २०२१ को जुलाईमा शेर्पा आउटडोर स्पोटर्स गुड्स इन्डिस्ट्री प्रालिका बनेको थियो ।

कम्पनीले हालै १ अर्ब ५७ करोड ८० लाख ८० हजार रुपैयाँको ऋणका लागि रेटिङ समेत गराएको छ ।


क्लिकमान्डु