रोमनिया जाने श्रमिकलाई भिसा आवेदन नेपालमै व्यवस्था गर्न आग्रह



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोमनिया जाने श्रमिकलाई भिषा आवेदन नेपालमै व्यवस्था गर्न आग्रह गरेका छन् ।

नेपालका लागि रोमानियाका नवनियुक्त राजदुत डेनियला सेजोनोभ टेनसँग आज भेट गर्दै मन्त्रीले सो बताएका हुन् ।

श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिसा आवेदनका लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेको बताउँदै उक्त बाध्यतालाई नेपालबाटै हुने गरी सहजीकरणका लागि समन्वय गर्न टेनलाई आग्रह गरे ।

भेटवार्तामा नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको छ ।

मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको चर्चा गर्दै रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको बताए । नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको थियो । जसमा रोमनिया सरकारले प्रस्तावित मस्यौदाप्रति आएको सकारात्मक प्रतिक्रिया दिएका थिए ।

पछिल्लो पाँच बर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या ७ हजार ६ सय १८ जना रहेको छ ।

नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्वन्ध स्थापना भएको थियो । नेपालको तर्फबाट जर्मनीको बर्लिन र रोमानियाको तर्फबाट भारतको नयाँदिल्लीमा रहेको दुतावासमार्फत कुटनीतिक सम्वन्ध कार्यान्वयन भइरहेको छ ।

युरोपेली मुलुक रोमानियामा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले नेपालीका लागि उपयुक्त गन्तव्य हुनसक्ने वैदेशिक रोजगार सम्वन्धि विज्ञहरुको भनाइ छ । राजदुत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।


क्लिकमान्डु