न्यूरोडमा सम्पदामैत्री व्यावसायिक भवन महर्जन कम्प्लेक्स सञ्चालनमा



काठमाडौं । काठमाडौंको न्यूरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ ।

दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो ।

प्रवर्द्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३–४ वटा कबलमा पसलहरु सञ्चालन भइसकेका छन् । अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कबल खरिद तथा भाडाको लागि उपलब्ध रहेको पनि उनले जानकारी दिए ।

उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ । कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय शुरु गरिसकेको तथा शुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

‘काठमाडौंमा सबैभन्दा बढी भिडभाड हुने ठाउँ भनेकै असन, इन्द्रचोक, न्यूरोडनै हो,’ महर्जनले भने, ‘महर्जन कम्प्लेक्स त्यही ठाउँमा छ, जहाँ सबै तह र तप्काका नागरिक पुग्छन् । यहाँ गरेको लगानी तीन वर्षमा उठ्ने अनुमान गरिएको छ ।’

महर्जनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ ।

कम्प्लेक्स सम्पदामैत्री शैलीको छ । भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता नगरिएको महर्जनको भनाइ छ । कम्प्लेक्सका प्रत्येक पिलर दुई बाई दुई फिटका छन् । दुई फिटको बिम प्रयोग गरिएको छ । भूकम्पीय सुरक्षाका दृष्टिले ज्यादै बलियो संरचना तयार गरेको उनको भनाइ छ ।

व्यावसायिक सम्भावनाको हिसाबले सहरकै सबैभन्दा बढी मानिसको चहलपहल हुने क्षेत्रमा कम्प्लेक्स रहेकोले तीन वर्षमै लगानी उठ्ने महर्जन बताउँछन् ।


क्लिकमान्डु