कुन प्रदेशमा कतिले बढ्यो घरजग्गाको मूल्य ?



काठमाडौं । घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण अनुसार सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत छ ।

मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कका आधारमा यस्तो मुद्रास्फीति २०७५/७६ को तुलनामा २०७६/७७ मा १९.७३ प्रतिशत थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को प्रथम ९ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ प्रतिशत र १२.५७ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले घरजग्गा मुद्रास्फीति केही कमी रहेको अध्ययनले देखाएको छ ।

घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भार निर्धारण गर्नका लागि राष्ट्र बैंकले विभिन्न क्षेत्रका सरोकारवालाहरूसँगको छलफल र घरजग्गाको कारोवार सङ्ख्याको आधारमा भार निर्धारण गरेको जनाएको छ ।

सोहीअनुसार आर्थिक वर्ष २०७५÷७६ को घरजग्गा रजिस्ट्रेशनको कुल कारोवार सङ्ख्यालाई आधार मानी भार निर्धारण गरिएको छ ।

उक्त भाराङ्कलाई राष्ट्रिय स्तर, प्रदेशस्तरमा एवम् जिल्लास्तरमा मूल्य निर्धारण गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

जग्गाका स–साना टुक्राहरूको कारोवार धेरै हुने भएकोले राष्ट्रिय स्तरमा जग्गा मात्रको भाराङ्क घरजग्गाको भाराङ्कको तुलनामा तीन गुणाभन्दा बढेको अध्ययनले देखाएको छ । जसमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घरजग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको छ ।

कुन प्रदेशमा कतिले बढ्यो घरजग्गाको मूल्य ?
राष्ट्र बैंकले गरेको अध्ययनअनुसार अधिकांश प्रदेशमा घरजग्गाको मूल्यमा वृद्धि भएको छ । त्यसमा सबैभन्दा बढी बागमति प्रदेशमा बढेको देखिन्छ ।

प्रदेश स्तरमा जग्गा तथा घरजग्गाको कुल कारोबारको आधारमा सबैभन्दा धेरै भाराङ्क बागमति प्रदेशको २९.२२ प्रतिशत रहेको छ ।

सबैभन्दा कम भाराङ्क कर्णाली प्रदेशको ३.६३ प्रतिशत रहेको छ । त्यस्तैगरी, प्रदेश नं. १ को २७.१३ प्रतिशत, लुम्बिनी प्रदेशको १७.४२ प्रतिशत, प्रदेश नं. २ को १२.४ प्रतिशत, गण्डकी प्रदेशको ६.८१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.७५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले जग्गा र घरजग्गाको मूल्यमा पनि छुट्टाछुट्टै अध्ययन गरेर के–कतिले बढ्यो भन्नेबारे प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा सबै प्रदेशका घर–जग्गा र जग्गाको भाराङ्क निर्धारण गरिएको छ ।

‘प्रदेशहरूमा घर भएको जग्गाको तुलनामा जग्गाको भाराङ्क बढी रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशगत घरजग्गा र जग्गा भार प्रदेश १ को घरजग्गामा ९.४० प्रतिशत र जग्गामा ९०.६० प्रतिशत, प्रदेश २ को घरजग्गामा २४.७५ प्रतिशत र जग्गामा ७५.२५ प्रतिशत, बागमती प्रदेश घरजग्गामा २३.८५ प्रतिशत र जग्गामा ७६.१५ प्रतिशत, गण्डकी प्रदेशको घरजग्गा ३२.३१ प्रतिशत र जग्गामा ६७.६९ प्रतिशत, लुम्बिनी प्रदेशको घरजग्गामा ३७.७२ प्रतिशत र जग्गामा ६२.२८ प्रतिशत, कर्णाली प्रदेशको घरजग्गामा ३१.४० प्रतिशत र जग्गामा ६८.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको घरजग्गामा २४.५३ र जग्गा ७५.४५ ले मूल्य वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

‘प्रदेश नं. १ मा जग्गाको भाराङ्कको तुलनामा घरजग्गाको भाराङ्क निकै कम देखिएको छ । घर भएको जग्गाको भार ९.४० प्रतिशत हुँदा जग्गाको भाराङ्क ९०.६० प्रतिशत रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ । यस्तैगरी, लुम्बिनी प्रदेशमा जग्गा र घरजग्गाको भाराङ्क र सबैभन्दा कम छ । यसले गर्दा लुम्बिनी प्रदेशमा अरू प्रदेशको तुलनामा घर भएको जग्गाको बढी कारोवार हुने देखिएको छ ।

जिल्लागत आधारमा भाराङ्कमा सबैभन्दा बढी तीन वटा जिल्लाहरूमा क्रमशः मोरङ, काठमाडौँ र रूपन्देहीको भाराङ्क १३.४९ प्रतिशत, १२.८५ प्रतिशत र ९.११ प्रतिशत रहेको छ । साथै, सबैभन्दा कम भाराङ्क हुने तीनवटा जिल्लाहरूमा क्रमशः कञ्चनपुर, सल्यान र सर्लाहीको भाराङ्क ०.९१ प्रतिशत, ०.९७ प्रतिशत र २.४५ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट निर्धारित स्रोत केन्द्रका सर्वेक्षण स्थलहरूमा जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोवारको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको थियो ।

साथै, निर्धारित स्रोत केन्द्रका सर्वेक्षण स्थलहरूमा तोकिएका ६ वटा वाणिज्य बैंकहरूबाट कर्जा प्रवाह गर्दा सूचीकृत मूल्याङ्कनकर्ताबाट गरिने धितो (जग्गा र घरजग्गा) को बजार मूल्याङ्कनको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको थियो ।

राष्ट्र बैंकले कारोबारको विवरण हेरी अधिकतम कारोबार हुने २ वटा वडा छनौट गरी सिस्टमेटिक र्यान्डम स्याम्पलिङ विधिबाट कुल कारोबार सङ्ख्याको कम्तीमा १० प्रतिशतले हुने नमूना छनोट गरिएको थियो ।

साथै, देशभरिबाट धेरै कारोवार सङ्ख्या भएको आधारमा हरेक प्रदेशबाट दुईवटा केन्द्र पर्ने गरी २० वटा जिल्ला छनोट गरिएको थियो । जसमा मालपोत कार्यालयको तथ्याङ्कमा आधारित घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि तोकिएका २० वटा मालपोत कार्यालयहरूको स्थलगत तथा अनलाइन सर्वेंक्षणको आधारमा नमूना कायम गरिएको छ ।

साथै, बैंकिङ तथ्याङ्कमा आधारित घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि मालपोत कार्यालयको सर्वेक्षणबाट निर्धारित विभिन्न ४० वटा वडाको आर्थिक वर्ष २०७५/७६ मा घरजग्गाको धितोमा प्रवाह भएको कर्जाको वडा अनुसारको तथ्याङ्क संकलन गरेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु