संघीय सरकारको सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजश्व संकलन ८२.८१ प्रतिशत भएको छ ।

कुल राजश्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ र अन्य कर राजश्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ गरी कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भएको हो ।

मंगलवार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको ८१.१५ प्रतिशत रकम अर्थात् ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को कुल खर्चमा नेपाल सरकारको स्रोतबाट ८२.३२ प्रतिशत तथा कुल खर्चको १७.६८ प्रतिशत बैदेशिक स्रोतबाट व्यहोरिएको छ । उक्त बैदेशिक स्रोतमा अनुदानको हिस्सा ३.४ प्रतिशत र ऋणको हिस्सा १४.६४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको सञ्चित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख रुपैयाँ प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख रुपैयाँ भुक्तानी भई चालु आव कोष अवस्था १ खर्ब ७ अर्ब १६ करोड ५४ लाख रुपैयाँले धनात्मक रहेको छ ।

प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजश्व संकलन र बेरुजु फछ्यौटमा देखिएका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान गएको बताए ।

उनले विकास खर्च बढाउन संस्थागत सुदृढीकरणको साथै ऐन कानुनमा परिमार्जन गर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच महालेखा नियन्त्रक सुमनराज अर्यालले आव २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन मन्त्रीसमक्ष पेश गरेका हुन् ।


क्लिकमान्डु