लयमा फर्कदै वैदेशिक रोजगार, असोजमा करिब ४० हजार विदेशिए



काठमाडौं । कोरोना भाइरस महामारीले निकै प्रभाव पारेको वैदेशिक रोजगारी लयमा फर्किन थालेको छ । वैदेशिक रोजगार विभागको मासिक तथ्याङ्कअनुसार असोज महिनामा १८ महिनापछि कै उच्च नेपाली श्रमिक विदेशिएका छन् ।

कोरोना महामारीका कारण २०७६ साल चैतबाट वैदेशिक रोजगारीमा निकै प्रभाव पारेको थियो । कोभिडले समय समयमा लकडाउन र निषेधाज्ञाले गर्दा हजारौं मानिस बेरोजगार भएका थिए भने हजारौं मानिस वैदेशिक रोजगारीमा जान बञ्चित भएका थिए ।

अहिले पनि कोरोनाकै समय भएकाले सीमित देशले मात्रै वैदेशिक रोजगारीका लागि खुल्ला गरेका छन् । उक्त खुल्ला गरेको देशमा नेपालबाट असोज महिनामा उल्लेख्यरुपमा वैदेशिक रोजगारीमा गएका छन् । असोज महिनामा करिब ४० हजार विदेशिएकाले लयमा फर्किएको विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आर्थिक वर्षको साउनमा २५ हजार ४ सय २८ जना, भदौमा ३६ हजार ४० जना विदेशिएका थिए । उक्त संख्या बढेर असो महिनामा ३९ हजार ६ सय ७१ जनाले श्रम स्वीकृति लिई विदेशिएका छन् । सामान्य अवस्थामा मासिक ४० हजार वैदेशिक रोजगारीमा जाने गर्दथ्यो । हाल असोजको तथ्याङ्क हेर्दा सामान्य अवस्थाको जतिकै वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

उक्त विदेशिएकामध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् । असोज महिनामा करिब ४० हजार विदेशिएका कामदारमध्ये आधाभन्दा बढी अदक्ष रहेका छन् ।

विभागकाअनुसार असोज महिनामा करिब ४० हजार विदेशिएकोमा २२ हजार ५ सय ५० जना अदक्ष, १४ हजार ३६ जना दक्ष, ३ हजार ५१ जना अर्धदक्ष, २३ जना प्राफेशनल र ११ जना धेरै दक्ष कामदार रहेका छन् । उक्त विदेशिएकोमा ३७ हजार २ सय ८ सय जना पुरुष छन् भने २४ सय ६३ जना महिला रहेका छन् ।

असोज महिनामा नेपालीहरूको प्रमुख गन्तव्य बहराइन, साइप्रस, जापान, कुबेत, ओमन, कतार, साउदी अरेबिया र युएईमा नेपाली श्रमिकहरू वैदेशिक रोजगारीको सिलसिलमा पुगेका छन् ।


क्लिकमान्डु