पूर्वसूचना बिना जागिर छाड्ने १२ कर्मचारीसँग मेगा बैंकले असुल्यो साढे ५ लाख
काठमाडौं । मेगा बैंकले जागिर छाड्ने कर्मचारीसँग साढे ५ लाख रुपैयाँ बढी असुल गरेको छ ।
बैंकले कर्मचारी विनियमावली विपरीत जागिर छाड्ने १२ जना कर्मचारीसँग ५ लाख ५६ हजार ७८८ रुपैयाँ असुल गरेको हो ।
बैंकले यसरी जागिर छोड्ने कर्मचारीसँग जरिवाना असुल गरेको नेपाल राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षण प्रतिवेदनले देखाएको छ । यसरी बैंकले २०७५ सालमा जागिर छोड्ने कर्मचारीसँग जरिवाना असुल गरेको हो ।
बैंकको कर्मचारी विनियमावली २०७६ अनुसार असिस्टेन्ट तहका कर्मचारीले जागिर छोड्नु अघि ३० दिन र अधिकृत तहमा कर्मचारीले ६० दिनअघि व्यवस्थापनलाई पूर्वसूचना दिनुपर्ने हुन्छ ।
तर, कर्मचारी विनियमावली विपरीत गएर राजीनामा दिने १२ जना कर्मचारीसँग बैंक व्यवस्थापनले १० हजार रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म जरिवाना असुल गरको छ ।
बैंकले पूर्व सूचनाबिना जागिर छाड्ने कर्मचारीबाट सो अवधिको तलब, तालिम खर्च, स्वास्थ्य उपचारलगायत अन्य सुविधा बराबरको रकम असुल गरेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको छ ।