देशभर सुपथ मूल्य पसल सञ्चालनमा, २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने



काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन भएको छ । कम्पनीले आज बागमति प्रादेशिक कार्यालय थापाथलीमा उद्घाटन गर्दै देशका विभिन्न ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीले यस वर्ष काठमाडौं उपत्यकाका जनताको सुविधाको लागि थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायक बिक्री काउन्टरमा भौतिक उपस्थितिमा बिक्री वितरण गर्ने भएको छ । साथै, कम्पनीले अनलाईन सेवाबाट समेत वस्तुमा छुट दिई निःशुल्क होम डेलिभरीको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

जसमा सेवाग्राहीले नेपाल फुड डटकम, सस्तोडिल डटकम, मुकुन्डो नेपाल डटकम र गोगो२० डटकममा अर्डर गर्न सक्नेछन् ।

कम्पनीले यो वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिनेछ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् ।

कम्पनीका सुचना अधिकारी शर्मिला न्यौपानले सुपथ मूल्य पसल सञ्चालन अवधिमा २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट विनियोजित १ करोड ७५ लाख रुपैयाँ बराबरको २५ क्विन्टल खाद्यान्न बिक्री गर्ने उनले बताइन् ।

त्यस्तै, कम्पनीका बागमति प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख ज्ञानु थापाले सुपथ मूल्य पसलले सहज बनाउने बताईन् । उनका अनुसार उपभोक्ताले सुपथ मूल्य पसलबाट खरिद गर्नुका साथै फोनबाट भएको अर्डरबाट पनि डेलिभरी गर्ने लाभ लिन सक्नेछन् ।

आजबाट शुरू भएको सुपथ पसल आगामी कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।


क्लिकमान्डु