दशैं-तिहारको अवसरमा गाडी किन्दा छुटैछुट, कुन कम्पनीको कस्तो अफर ?



काठमाडौं । नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा चार पाङ्ग्रे सवारीसाधन कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै चार पाङ्गे सवारी साधनको व्यापारमा निकै प्रभावित भएका थिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागू गरेको लकडाउनले गर्दा व्यापारमा निकै कम भए पनि लकडाउन खुकुलो हुने वित्तिकै व्यापार चम्केको थियो । हाल बजारमा ग्राहकले खोजेअनुरुपमा सवारी साधन उपलब्ध गराउन नसकेको व्यवसायीहरू बताउँछन् ।
साथै, दशैंतिहार लक्षित अफर सार्वजनिक गरेपछि झनै सवारीसाधनको माग बढेको व्यवसायीहरूको भनाइ छ ।

यसैगरी, विगतको जस्तै विभिन्न गाडी कम्पनीले ग्राहकहरूलाई आकर्षित गर्नक लागि सुजुकी, हुन्डाई, टाटा, ड्याट्सन÷निसान, महिन्द्रलगायत विभिन्न गाडी कम्पनीले भारी डिस्काउन्टका साथ विभिन्न अफर सार्वजनिक गरेका छन् । यसमा विभिन्न कम्पनीको छुट्टाछुट्टै अफरसहित बजारमा विभिन्न नयाँ गाडी पनि सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्तो अफर ?
सुजुकीः सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव अफर शुरु गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्चेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस र १ वर्षको सवारी बीमाका साथै स्क्रयाच कार्डमार्फत् ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सक्नेछन् ।

सुजुकीका मोडलअनुसार फरकफरक छुटहरु र क्लियरेन्स मोडलमा विशेष छुट पनि ग्राहकले पाउन सक्नेछन् । यो योजना सीमित अवधिका लागि सुजुकी शोरुमका मुलुकभर रहेका ३८ वटै शोरुममा लागू हुनेछ ।

सुजुकी ब्रान्ड अन्तर्गत एस्प्रेसो, वागेन आर, इग्निस्, स्विफ्ट्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारीलगायतका मोडलमा गाडीका बिक्री वितरण भइरहेको छ ।

प्रोटोनः प्रोटोनले चाडपर्वलाई लक्षित गरेर दशैं दक्षिणा योजना ल्याएको छ । भदौ १७ गतेबाट सुरु हुने यो योजना प्रोटोनका काठमाडौँ, बुटवल र पोखरामा रहेका सोरुममा लागु हुनेछ ।

दशैं दक्षिणा योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा १ लाख देखि ६ लाखसम्मको दक्षिणा पाउन सक्नेछन् । साथै कुनैपनि ब्राण्डका गाडीसँग प्रोटोनको गाडी एक्सचेञ्ज गरेमा ५० हजार देखि २ लाखसम्म एक्सचेञ्ज बोनस पाउन सक्नेछन् ।
त्यस्तै प्रोटोनको नयाँ गाडी खरिदमा ५० हजार देखि २ लाख ५० हजार सम्मको छुट र पाटपूर्जा सित्तैमा पाउनेछन् । यो योजना अन्तर्गत ग्राहकले व्याजदर सहीतको किस्ताबन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन् ।

फोटोनः सेभ टनाटन अर्न टनाटन स्लोगनसहित फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैं अफर ल्याएको छ ।

योजना अन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने कम्पनीको भनाइ छ । ८०% सम्म फाइनान्स, २ लाख पचास हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ ।

साथै १ वर्षको लागि निःशुल्ल्क बीमा र १ वर्षका लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएसमा यो छुट पाइनेछ ।

हुन्डाईः नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ ‘हुण्डाई आई २०’ पाउनेछन् । साथै, कम्पनीले ३ लाख रुपैयाँसम्मको नगद छुटको योजना ल्याएको छ ।

साथै स्क्रयाच कार्डमार्फत् १ लाख रुपैयाँसम्मको थप नगद छुट र निस्शुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टीसहित एक वर्षको बीमाको व्यवस्था गरेको छ ।

फोर्स : फोर्स मोटर्स कम्पनीले दशैलक्षित ‘फोर्स मोटर्स दशैं तिहारमा १० को अफर’ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई दशैंतिहार लक्षित १० प्रतिशत नगद छुट, १० प्रतिशत स्पेयर पार्टसमा नगद छुट, १० निशुल्क सर्भिसिङ र १० जनालाई लक्की ड्रद्धारा सामसुङ एफाइभटु स्मार्ट फोन पाउन सक्ने योजना सार्वजनिक गरेको छ । साथै फोसं गाडीको प्रत्येक मोडलमा ३ वर्ष र ३ लाख किलोमिटरसम्मको वारेन्टी हुनेछ ।

टाटा: नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले २०७८ सालको दसैंको अवसरमा नयाँ गाडी खरिदकर्तालाई ‘यसपालीको दशैंतिहार टाटाका सेफेस्ट कार हर्षमय परिवार’ अफर सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत कम्पनीले २ लाख नगद छुट पाइनेछ । यसका साथै निःशुल्क एक वर्षको सवारी कर, ३ वर्षको वारेन्टीसहित फ्रि सर्भिस र अट्राक्टिभ बोनसको व्यवस्था गरेको छ । साथै कम्पनीले फ्रि एसोसरिज, फ्रि ओनरसिप ट्रान्फरको पनि व्यवस्था गरेको छ ।

साथै अवसरमा ग्राहकले टाटा मोटर्सको जुनसुकै सोरूममा गएर नयाँ डिजाइनका उत्पादनहरूः टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडी अवलोकन, टेस्ट ड्राइभ तथा गरेर योजनाको ग्राहकले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

निसान : निसान गाडीको आधिकारिक विक्रेता तथा बजार व्यवस्थापन पायोनियर मोटोकर्पले चाडपर्वका अवसरमा ‘निसान फेस्टिभ ड्राइभ’ अफर सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले ३ लाख ५२ हजार २ सय ७१ रुपैयाँ लाभ लिmन सक्नेछन् । जसमा कम्पनीले २ लाख ५० हजार नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै कम्पनीले ग्राहकहरूलाई दशैंतिहार लक्षित १ वर्षको बीमा, १ वर्ष सडकको कर, ३ वर्ष फ्रि सर्भिसिङ र ३ वर्ष वारेन्टीको अफर ल्याएको छ ।

डिएफएसकेः डिएफएसकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपालले चाडपर्वलाई मध्यनजर गरेर स्कीम सार्वजनिक गरेको छ ।कुजु नेपालले दसैं, तिहार, नेपालसम्बत र छठ पर्वको अवसर पारेर ग्लोरी आई अटो एसयूभीमा विशेष स्कीम सार्वजनिक गरेको हो ।

डिएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चढ्न सक्नेछन् । साथै, तीन लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुट समेत दिनेछ ।

उक्त नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रीक स्कुटर सि१एस वा जि ५ वा इलेक्ट्रिक माउन्टेन बाइकमध्ये एउटा छनोट गर्न सक्ने छन् । डिएफएसके ग्लोरी५६० किन्न चाहने ग्राहकले १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् ।

कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्ने छन् । यो स्कुटर र माउन्टेन बाइकको मूल्य दुई लाख ५० हजार बराबर हुनेछ ।

ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्स्चेन्ज बोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदान गर्नेछ ।

ड्याटसनः नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले चाडवाडको अवसर पारेर नेपाली बजारमा ‘ड्याट्सन फेस्टिभ हट डिल’योजना सार्वजनिक गरेको छ ।

कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडवाड एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान चाड दसैंको अवसरमा यो आकर्षक योजना ल्याएको हो ।

यस योजनामा ग्राहकलाई कूल २ लाख ४१ हजार ५२ बराबरको विशेष सुविधा रहेको छ । जसमा १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २८ हजार मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्नेछन् । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

यससँगै अफरमा ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ ।


क्लिकमान्डु