म्याकडोनाल्सले अब मसला चिया पनि बेच्ने



Ljubljana, Slovenia – September 3, 2011: Close-up of McDonalds outdoor sign with typical rounded yellow M letter against cloudless blue sky. Sign is positioned on the left side of image.

नेपालमा चिया पारखी प्रशस्तै छन् । बिहानै चियाको सुर्कीसँग पत्रिका पढ्नु त धेरैको बानी नै बनिसकेको छ । पाहुना आउँदा पहिलो प्रस्ताव नै चियाको हुन्छ । त्यस्तै घरबाहिर पनि चिया पिउन रुचाउने नेपाली थुप्रै छन् । काठमाडौं उपत्यकामा नयाँ–नयाँ चिया÷कफी स्टेशनहरु खुलिरहेका छन् । यी स्टेशनहरु चिया÷कफी पारखीहरुले भरिभराउ रहन्छन् ।

चिया पारखीका लागि नयाँ खबर हो म्याकडोनाल्समा चिया । नेपाली चिया पारखीले भने म्याकडोनाल्समा चिया पिउनका लागि केही समय कुर्नुपर्ने नै हुनसक्छ ।

ह्यामबर्गर र फ्रेञ्च फ्राइजका लागि प्रसिद्ध रहेको म्याकडोनाल्सले अब चिया पनि बेच्ने भएको हो ।

म्याकडोनाल्सले केही समयदेखि स्थानीय रुचिका उत्पादनमा जोड दिन थालेको देखिन्छ । स्थानीय ग्राहकलाई स्थानीय स्वाद दिनका लागि म्याकडोनाल्स इन्डियाले आफ्नो मेन्यूमा मसला कडक चिया र बेसार भएको दूध थप गरेको छ ।

म्याकक्याफे आउटलेट सञ्चालन गर्ने म्याकडोनाल्सको पश्चिमी र दक्षिणी भारतीय फ्रेञ्चाइज हर्डकास्ले रेष्टुराँले दिएको जानकारी अनुसार केही अनुसन्धानमा ग्राहकले रोगप्रतिरोधात्मकक्षमता भएका उत्पादन मन पराएको देखिएपछि यी दुई उत्पादन मेन्यूमा समावेश गरेको हो । यी दुबै उत्पादन म्याकक्याफे आउटलेटमा उपलब्ध हुनेछन् ।

यो फ्रेञ्चाइजले भारतका ४२ सहरमा ३०५ वटा म्याकडी रेष्टुराँ सञ्चालन गर्दै आएको छ ।

यसले बेसारवाला दूधलाई अनौठो स्वादको उत्पादनका रुपमा बताउँदै यसमा अलैँची, केसरलगायतका आयुर्वेदिक औषधीहरुको उपयोग गरिने बताएको छ । जुन कफ, खोकी जस्ता बिरामीका लागि फाइदाजनक हुनेछ ।

आयुर्वेदिक औषधी र मसलाको प्रयोग भएको दूधले शरीरलाई तुरुन्तै उर्जा दिने दाबी गरिएको छ । एककप मसला कडक चियाको मूल्य ९९ भारु हुनेछ । बेसारवाला दूधको प्याकलाई भने १४० भारु पर्नेछ ।

त्यस्तै म्याकडोनाल्सले यही सेप्टेम्बरको अन्त्यदेखि बेलायत र आयरल्याण्डमा भेज (शाकाहारी) बर्गर बेच्ने भएको छ । म्याकडोनाल्सले शाकाहारी बर्गर पहिल्यै अष्ट्रिया, स्वीडेन र डेनमार्कमा बिक्री गर्दै आएको थियो ।


क्लिकमान्डु