सेयर बजारका विषयमा गभर्नरसँग कुरा गरेको छैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा आएको उतारचढावको विषयमा आफूले गभर्नरसँग कुरा नगरेको स्पष्ट पारेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा नेमकिपाका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग फोनमा कुरा नगरेको दाबी गरेका हुन् ।

‘मैले गभर्नरसमक्ष फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर त्यो सत्य होइन । आन्तरिक घोटलाको विषयमा उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा समिति गठन गरिएको हाल छानबिन चलिरहेको छ,’ अर्थमन्त्रीले भने ।

तर राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । मन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका थिए ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सेयर बजारमा उतारचढाव आएसँगै केही सेयर लगानीकर्ता समूहहरु गभर्नरको राजीनामा माग गर्दै आन्दोलन समेत गरेका थिए । त्यसपछि अर्थमन्त्री शर्माले राष्ट्र बैंकको नीतिका विषयमा चासो व्यक्त गरेका थिए ।

अर्थमन्त्री शर्माको सचिवालयले गभर्नरलाई फोन गरेर चासो लिँदै समस्या सम्बोधन गर्न निर्देशन दिएको विज्ञप्ति नै पठाएको थियो । तर, अर्थमन्त्री शर्माले संसदमा भने गभर्नर कुरा नगरेको भनेर झुटो बोलेका छन् ।


क्लिकमान्डु