घरभाडा वापतको रकमलाई आयकरमा समायोजन गर्नुपर्ने मोबाइल व्यवसायी महासंघको माग



काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले घरभाडा वापतको रकलाई आयकरमा समायोजन गर्नुपर्ने माग गरेका छन् । महासंघले बुधबार पत्रकार सम्मलेन गर्दै जटिल अवस्थामा राज्यले बन्द गराएको अवधिको घर भाडा वापतको रकमलाई आयकरमा समायोजन गर्नुपर्ने माग गरेको हो ।

महासंघले कोरोनाको समयमा विभिन्न समस्याहरू झेल्दै आएको अवस्थामा राज्यले खासै व्यवसायीलाई ध्यान नदिएको जिकिर गरे । महासंघका अध्यक्ष भरत भट्टराईले ठूला आयातकर्ता र ठूला व्यवसायीहरूलाई राज्यले विभिन्न योजनाहरू ल्यायो । तर कोरोनाका कारण महिनौं ठप्प रहेको मोबाईल व्यवसायले राज्यबाट कुनै सुविधा नभएको बताए ।

‘मोबाइल व्यवसायीहरूले अर्बौ राजश्व उठाईरहेको मोबाईल व्यवसाय कसरी चलेका छन् भनेर राज्यका निकायहरूले चासो राख्नुभन्दा पनि उल्टै विभिन्न बाहानामा दुःख दिने, निरुत्साहित पर्ने खालका गतिविधिहरू भइरहेका छन्,’ उनले भने ।

त्यसैगरी मोबाइल व्यवसायी सञ्चालनको लागि न्यूनतम ४० लाखको लगानी आवश्यक रहेको भन्दै बैंकहरूले अन्य व्यवसाय सरह व्यवहार नगरेको उनको भनाइ छ । साथै ऋणको सहज पहुँच नुहँदा कोरोनाले थलिएको हजारौं मोबाईल व्यवसायको व्यवसायी अन्यौल बनेको उनले बताए ।

कार्यक्रममा महासंघले पहिलो पटक आफ्ना अवधारणा–पत्र सार्वजनिक गरेका छन् । उक्त अवधारणा पत्रमा मोबाइल व्यवसायीले झेलिरहेको वर्तमान समस्या र चुनौतीबारे स्पष्ट पारेका छन् ।

महासंघका महासचिव रमेश कुमार घिमिरेले अवधारणा पत्र सार्वजनिक गर्दै मोबाइल व्यवसायीहरूले आयातकर्ता र राज्यको असहयोगले गर्दा व्यवसायमा विभिन्न समस्या भोग्न बाध्य भएको बताए ।

जसमा व्यवसायीहरूले नेपालमा गुणस्तर र आवश्यकताको आधारमा बिक्री वितरण गर्न नसक्नु, भाडाका कारण व्यवसायीहरू दिनहुँ पलायन हुनुपर्ने, राज्यले उचित सम्बोधन नगरेको, एमआर्पीमै सामान खरिद गर्नुपर्ने, रिपयरिङ र सर्भिसिङको व्यवस्था नगर्नु, चोरी, डकैतीलाई नियन्त्रण गर्न नसक्नुलगगायत अन्य विभिन्न समस्याहरू रहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु