१२ जीबन र ४ निर्जीबन बीमा कम्पनीले बुझाए लाइसेन्सको लागि कागजात




काठमाडौं । नयाँ बीमा कम्पनीको अनुमतिको लागि १६ कम्पनीले कागजात बुझाएका छन् । बीमा समितिले दिएको म्यादभित्र ती कम्पनीले आवश्यक कागजात बुझाएका हुन् ।

बीमा समितिले २१ दिनको म्याद दिएर नयाँ कम्पनी संचालन गर्ने भए आवश्यक कागजात बुझाउन पत्राचार गरेको थियो । यसअघि नै समितिमा दर्ता भएका, कम्पनी दर्ता भइसकेका र अझै पनि कम्पनी संचालन गर्न इच्छुक कम्पनीलाई समितिले पत्राचार गरेको थियो ।

समितिको गत ३० चैतमा बसेको संचालक समितिको बैठकले नयाँ कम्पनी संचालन गर्न चाहने र सो मापदण्डभित्र पर्ने कम्पनीलाई २१ दिनभित्रमा कागजात पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।

पहिला समितिमा दर्ता भएको र कम्पनी रजिस्टार कार्यालयमा कम्पनी दर्ता भएको एउटा कम्पनीले भने अब कम्पनी संचालन नगर्ने भन्दै समितिको पत्र बुझेको थिएन ।

म्यादभित्रमा १२ जीबन बीमा र ४ निर्जीबन कम्पनीले कागजपत्र बुझाएका समितिका अध्यक्ष चिरन्जीबी चापागाँईले जानकारी दिए ।

समितिले दिएको जानकारी अनुसार आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटजन, रिलायबल, स्ट्याण्डर्ड, ज्योति, युनियन र युनिलाइफले जीबन बीमा ब्यवसाय गर्नको लागि अनुमति मागेका हुन् ।

यस्तै निर्जीबन बीमा ब्यवसाय गर्ने भन्दै सानिमा, मनकामना, अजोड र जनरलले कागजात बुझाएका छन् ।

जीबन बीमा कम्पनीको लाइसेन्स समितिको सिफारिसमा अर्थमन्त्रालयले दिन्छ भने निर्जीबन बीमा कम्पनीको लाइसेन्स समिति आफैले दिन सक्छ ।


क्लिकमान्डु