वार्षिकोत्सवको अवसरमा नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण



काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ ।

असार २८ गते सोमबार बैंकले आफ्नो ३७औं वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमकबीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।

नबिलले वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई प्लान्ट हस्तँन्तरण गरेको हो । उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको थियो ।

कोभिड १९ दोस्रो लहरको अन्त्यसँगै अहिले विश्वका अन्य मुलुकमा तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र बिरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो ।

त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग समेत साझेदारी गरी विपद्को पूर्वतयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ । यस अन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा ७ वटै प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्वतयारी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो ।

अभिमुखिकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए । आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ ।


क्लिकमान्डु