करमा महामारीको असरः ८७ प्रतिशत असूली, भ्याटमा मात्रै भेटियो लक्ष्य



काठमाडौं । कोभिड १९ महामारीको असर राजस्व असूली लक्ष्यमा देखिएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा तिर्नुपर्ने करको अन्तिम किस्ता बुझाउन आन्तरिक राजस्व विभागले तोकेको समयावधिसम्ममा वार्षिक लक्ष्यको करिब ८७ प्रतिशत मात्रै कर उठेको देखिएको हो ।

अन्तिम किस्ताबापतको कर बुझाउनका लागि करदाताहरुलाई असार २५ गते सम्मको समयावधि दिइएको थियो । तर, यो अवधिमा अपेक्षित राजस्व भने संकलन हुन सकेको देखिदैन ।

आन्तरिक राजस्व विभागकाअनुसार महामारी रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखयता जारी भएको निषेधाज्ञाका कारण आर्थिक वर्षको अन्तिम त्रैमासमा राजस्व असुली निकै घटेको छ ।

वैशाखमा मासिक लक्ष्यको ९५.३३ र जेठमा ५३.५४ प्रतिशत मात्रै राजस्व उठेको थियो । असारमा पनि मासिक लक्ष्यको आधाभन्दा कममात्रै राजस्व असूली हुने देखिएको छ । सोमबारसम्मको आन्तरिक राजस्व असूली मासिक लक्ष्यमा ४०.३२ प्रतिशत र वार्षिक लक्ष्यमा ८६.५७ प्रतिशत बराबर छ ।

असार महिनासम्ममा ४ खर्ब ५० अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबर कर उठाउने सरकारको लक्ष्य थियो । तर सोमबारसम्ममा ३ खर्ब ८९ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ बराबर कर असूली भएको छ ।

त्यस्तै, असार महिनामा मात्र सरकारले ७१ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २८ अर्ब ९७ करोड २८ लाख रुपैयाँ बराबर मात्रै कर उठेको छ ।

राजस्व असूलीमा मूल्य अभिवृद्धि कर (भ्याट) को लक्ष्य पुरा भएको छ भने अरु शीर्षकका करमा लक्ष्य नभेटिने देखिएको छ । १ खर्ब १२ अर्ब ३ करोड ६२ लाख रुपैयाँ बराबरको भ्याट असूली लक्ष्य रहेकोमा १ खर्ब १२ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबर उठेको छ ।

विभागको तथ्यांकअनुसार सोमबारसम्ममा आयकर ७९.६९ प्रतिशत मात्र संकलन भएको छ । चालु आर्थिक वर्षका लागि २ खर्ब १० अर्ब ९८ करोड ७२ लाख रुपैयाँ बराबर भ्याट उठाउने सरकारी लक्ष्य रहेकोमा १ खर्ब ६८ अर्ब १२ करोड ९० लाख रुपैयाँ बराबर मात्रै संकलन भएको छ ।

त्यस्तै अन्तःशूल्कतर्फ ९५ अर्ब ७८ करोड ३६ लाख बराबर असुली लक्ष्य राखिएकोमा ७९ अर्ब ७९ करोड २ लाख बराबर संकलन भएको छ । सोमबारसम्मको अन्तःशूल्क असूली वार्षिक लक्ष्यको ८३ प्रतिशत बराबर हो ।


पुष्प दुलाल