वायुसेवा निगमका अपरेशन डाइरेक्टर दीपु जुहार्चनको नियुक्ती गैरकानूनीः सतर्कता केन्द्र



काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले नेपाल वायुसेवा निगमको अपरेशन निर्देशक दीपु जुहार्चनको नियुक्ती गैरकानूनी भएको प्रतिवेदन पेश गरेको छ ।

प्रहरी उपनिरिक्षक राजेन्द्रकुमार पोखरेल, प्रहरी नायव उपरिक्षक बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनी अध्ययन गरी तयार पारेको प्रतिवेदनमा जुहार्चको नियुक्ती गैरकानूनी देखिएको उल्लेख छ ।

‘नेपाल वायुसेवा निगमको कार्यकारी सेवा, शर्त सम्बन्धि विनियमावली, २०५८ को विनियम ३३ मा कायम मुकायम सम्बन्धि भएको व्यवस्था विपरीत कार्यविधिमा जुहार्चनको योग्यतासँग मिल्ने गरी गरिएको संशोधन तथा सोही संशोधनका आधारमा दीपु जुहार्चनको अपरेशन विभाग प्रमुखको नियुक्त गरेको विषय समेत गैरकानूनी देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

अपरेशन म्यानुअल संशोधन तथा रिभिजन गर्दा तोकिए बमोजिम कमिटी गठन गरी आफ्नो रायसहित पेश गरी सो अनुसारको प्रक्रिया अपनाउनु पर्नेमा तोकिएको कार्यविधिगत प्रक्रियाको नियम कानून कार्यविधि संशोधन गर्दा अपनाउनुपर्ने तोकिएको कार्यविधिगत प्रक्रियाको पालना नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त कुरा वैधानिक नदेखिँदा डाइरेक्टर अपरेशन डिपार्टमेन्टको संशोधन तथा नियम विपरीतको नियुक्त वैधानिक नदेखिएको अध्ययन कमिटिको निष्कर्ष छ ।

प्रतिवेदनमा अन्तर्वार्ता नहुँदै वायुसेवाबाट नियुक्त हुनु तथा प्राधिकरणबाट अन्तर्वार्ता लिइ नियुक्त भएको मितिदेखको बढुवा सदर गर्नु नियमसंगत नदेखिएको उल्लेख छ ।

साथै अध्ययन समितिले जुहार्चनलाई नियुक्त गर्ने कुनै निर्णय नै नभइ नियुक्त गरेको समेत देखिएका प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नेपाल वायुसेवाको पत्र संख्या इसीएम २३/७१०/०७५/७६ मिति २०७६ असार ३१ गतेको पत्रानुसार निगमको कर्मचारी सेवा, शर्त सम्बन्धि विनियमावली, २०५८ को विनियम ३३ अनुसार तत्काल लागू हुने गरी बढीमा ६ महिनाका लागि गरिएको नियुक्त र नागरिक उड्डयन प्राधिकरणको पत्र संख्या र चलानी नम्बर ४९ मा २५ जुलाई २०१९ को पत्रबाट नयाँ नियुक्त अपरेशन निर्देशक क्यापटेन दीपु ज्वार्चनलाई अन्तरर्वाताका लागि मिति २८ जुलाई २०१९ आइतबारको दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

त्यसैगरी नेपाल वायुसेवा निगमबाट प्राप्त कागजातमा अन्तिम बढुवा भइ तह ९ मा रहेका मिति २०७७ माघ ७ गतेको क्रु मेम्बरहरुको नामावली अनुसार ज्येष्ठता हेर्दा जुहार्चन १९औं नम्बरमा रहेको देखिन्छ ।

स्रोतः सतर्कता केन्द्रको प्रतिवेदन

‘नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत कारबाही समेत भएको देखिएको अवस्थामा निजको अपरेश विभागको प्रमुखमा भएको नियुक्त वैधानिक नदेखिएकाले निजलाई नियुक्त गर्ने पदाधिकारी, नियुक्त हुने पदाधिकारी तथा वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्त सम्बन्धि विनियमावली, २०५८ मा उल्लेखित प्रावधानभन्दा कुनै व्यक्तिका लागि मिल्ने खालको प्रावधान राखी नियम विपरीत कार्यविधि नपुर्याइ कार्यविधि संशोधन गरी सोही अनुसारको निजलाई अपरेसन विभागको प्रमुख जिम्मेवारी प्रदान गर्ने पदाधिकारी र गैरकानूनी संशोधनलाई प्रमाणित गर्ने नेपाल वायुसेवा निगमका पदाधिकारी तथा सो संशोधनलाई समर्थन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका जिम्मेवार पवदाधिकारीलाई कानून बमोजिम कारबाही गर्न र नियम विपरीत बढुवा भइ लिएको रकम समेत सम्बन्धि पदाधिकारीबाट असुल उपर हुनुपर्ने देखिन्छ । साथै कार्यविधि लगायत विषयमा संशोधन थपघट गर्दा कानूनले तोकेको कार्यविधिको अक्षरशः पालना गर्न वायुसेवा निगम तथा प्राधिकरणलाई निर्देशन दिन मनासिव हुने देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ ।

अपरेशन्स म्यानुअल संशोधन गर्ने कार्यविधि समेत पालना नगरी आफूखुसी हचुवाको भरमा नियुक्त गर्ने कार्य, नियम विपरीत नियुक्त हुने तथा सो संशोधनलाई समर्थन गर्ने पदाधिकारीलाई कानून बमोजिम कारबाही गर्न अध्ययन समितिको सुझाव छ ।

त्यसैगरी गैरकानूनी प्रक्रियाबाट पद प्राप्त गर्ने र उक्त पद उपलब्ध गराउनेलाई कानून बमोजिम कारबाही गरी गैरकानूनीरुपमा प्राप्त गरेको पदबाट प्राप्त गरेको रकम तथा सुविधावापतको लिएको रकम सम्बन्धितबाट असुलउपर गरी नियमानुसार नियुक्त गर्न तथा नियमावलीको प्रतिकुल हुने गरी आवश्यक प्रक्रिया पूरा गरेर मात्रै अपरेसन्स म्यानुअललगायत कानूनी प्रावधानहरु संशोधन थपघट गर्न तथा सो सम्बन्धमा छानविनको क्रममा देखिएका प्रतिवेदन उल्लेखित कुराहरुको समेत पालना गर्न र काबाहीको जानकारी केन्द्रलाई उपलब्ध गराउन भनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण तथा सञ्चालक समिति, नेपाल वायुसेवा निगमलाई निर्देशकन दिन मनासुवि हुने सुझाव समेत दिएको छ ।

जुहार्चनलाई वायुसेवा निगमले २०६४ असोज २८ गते पाइलटको तालिका लागि छनोट गरिएको थियो भने २०६४ पुस १९ गतेको पत्रबाट स्थायी जुनियर पाइलटमा नियुक्त गरिएको थियो ।

त्यसैगरी २०७२ असार २४ गतेको पत्रबाट जुनियर क्याप्टेन र २०७५ पुस ४ गतेको पत्रबाट क्याप्टेन पदमा बढुवा गरिएको थियो ।
त्यसैगरी जुहार्जनलाई २०७६ असार ३१ गतेको पत्रानुसार तत्काल लागू हुने गरी बढीमा ६ महिनाका लागि अपरेशन विभागको निर्देशक पदको (१०औं तह) मा कायम मुकरर गरिएको थियो ।

‘नेपाल वायुसेवा निगमको कार्यकारी सेवा, शर्त सम्बन्धि विनियमावली, २०५८ को विनियम (३३) मा कायम मुकायम सम्बन्धि व्यवस्था गरिएइको पाइन्छ । उक्त विनियमको (१) (ख)मा निगमको विभागीय प्रमुृख, कार्यालय प्रमुख, महाशाखा प्रमुख, र उड्डयन सेवा, वायुयान मर्मत सम्भार सेवा तथा सामान्य प्राविधिक सेवातर्फ चेयर होल्ड गर्ने प्रबन्धकको पदमा कार्यकारी प्रमुखले कायम मुकायम नियुक्ती गर्न सक्ने उल्लेख छ । उपनियमन (१) बमोजिम कायम मुकायम मुकरर गर्दा बढीमा ६ महिनासम्मका लागि गर्न सकिने उपविनियम (२) मा उल्लेख भएको पाइन्छ । उपविनियम (३) मा उपविनियम (१) बमोजिम कायम मुकायम मुकरर गर्दा सम्बन्धि सेवा, समूह वा उपसमूहको पदमा कार्यरत कर्मचारीहरुबाट मध्येबाट ज्येष्ठता, योग्यता तथा कार्य क्षमताको आधारमा कामु मुकरर गरिने पदभन्दा एक तह मुनीको कर्मचारीलाई गर्नुपर्ने उल्लेख भएको छ ।


क्लिकमान्डु