जीवन विकास लघुवित्त कम्पनीको आइपीओको प्रि-अलोटमेन्ट आज, बाँडफाँट कहिले ?
काठमाडाैं । जीवन विकास लघुवित्त कम्पनीको आइपीओको प्रि-अलोटमेन्ट आज हुने भएको छ । सोमबार दिउँसो प्रि-अलोटमेन्ट हुने एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
प्रि-अलोटमेन्टको जानकारी नेपाल धितोपत्र बोर्डलाई गराएर बोर्डबाट अनुमति पाएपछि आइपीओ बाँडफाँट हुनेछ । बोर्डबाट स्वीकृति पाए बिहीबार नै आइपीओ बाँडफाँट गरिने छ ।
जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७३२ जनाले आवेदन दिएका थिए । जुन हालसम्म कुनै पनि आइपीओ परेको सबैभन्दा धेरै आवेदन हो ।
कम्पनीको आइपीओमा कुल ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गरेको थियो ।
कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ ।
त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ ।