सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीद्वारा सर्वोच्चमा रिट दर्ता



काठमाडौं । वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । कोषको ऐनमा भएका केही बुँदामा असहमति जनाउँदै वित्तीय क्षेत्रका कर्मचारीले आइतबार रिट दर्ता गराएका हुन् ।

वित्तीय क्षेत्र कर्मचारी संघलगायत अन्य विभिन्न क्षेत्रका कर्मचारी ट्रेड युनियनहरुको समन्वयमा गत शुत्रबार नै कोष विरुद्ध सर्वोच्चमा मुद्दा पेश गरिएको थियो । जसलाई अदालतले २४ घण्टा क्वारेन्टिमा राखी आइतबार दर्ता गराएको हो ।

कोषले संगठित क्षेत्रका संघ-संस्थामा आवद्ध सबै रोजगारदातालाई असार मसान्तभित्र आवद्ध भई योगदान शुरु गर्न भनेको छ । दिइएको अल्टिमेटममा सबैलाई आवद्ध गराउनका लागि कोषले विभिन्न प्रकारको डर र त्रास देखाएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कार्यरत संस्थामार्फत् हाल खाइपाइ आएको सुविधा नघट्ने, कोष अनिवार्य नभएर स्वेच्छिक हुनुपर्ने, दोहोरो कर, बीमा, निजामति कर्मचारी र निजी क्षेत्रको भेदभाव हट्नु पर्नेलगायतका माग राखी मुद्दा दर्ता गरिएको वित्तीय क्षेत्र कर्मचारी संघका एक अधिकारीले जानकारी दिए ।

पछिल्लो समय कोषमा आवद्धताका लागि वित्तीय क्षेत्रका कर्मचारीलाई भएका समस्याको प्रदर्शनी कालो ब्यानरमा गर्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनरत छन् ।


पुष्प दुलाल